हेटौंडाका विद्यार्थीलाई सिनेमा साक्षरता



हेटौंडा ।

काठमाडौंको ओस्कार अन्तर्राष्ट्रिय कलेजले आफ्नो अभियानअन्तर्गत हेटौंडामा सिनेमा साक्षरता कार्यक्रम गरेको छ। नेपालका ठूला दश शहरमा सिनेमा साक्षरता अभियानअन्तर्गत सो कार्यक्रम हेटौंडास्थित हेटौंडा क्याम्पसमा सञ्चालन भएको हो।

दुई दशकदेखि नेपालमा सिनेमा शिक्षा प्रदान गरिरहेको ओस्कर कलेजले देशव्यापी सिनेमा साक्षरता अभियान सञ्चालन गरेको हो। उक्त कलेज सिनेमा शिक्षा क्षेत्रमा स्नातक तह अध्ययन गराउने नेपालकै पहिलो कलेज हो।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ओस्कार कलेजले यस प्रकारको कार्यक्रम चैत १४, १५ र १६ गते क्रमशः झापाको बिर्तामोड, कोशी प्रदेशको राजधानी बिराटनगर र इटहरीमा सम्पन्न गरेको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीले यस्तो अभियानले दक्ष कलाकारमात्र उत्पादन गर्ने नभई राम्रो दर्शक पाउन पनि प्रभावकारी हुने बताएका छन्। फिल्म क्षेत्रलाई हेर्ने नकारात्मक दृष्टिकोणलाई सकारात्मकतामा परिर्वतन गर्न सिनेमा साक्षरता आवश्यक भएको भनी कार्यक्रममा जोड दिइएको थियो।

आयोजकका अनुसार यस खालको कार्यक्रम फिल्म निर्माण क्षेत्रका लागि साक्षरता अभियान हो। र, यसबारे अध्ययनको खाँचो छ भनेर अभियान शुरू गरिएको हो।

अध्ययनका लागि इन्जिनियरिङ, व्यवस्थापनलगायत अनेक विषय रहेझैं आर्ट फिल्डमा हुने सिनेमा शिक्षाभित्र विविध विषय रहेको सिनेमा साक्षर अभियान प्रबन्धक तथा कलेजका प्रशासकीय प्रमुख नवीन न्यौपानेले जानकारी दिए। सिनेमा एक अध्ययनको विषय हो भनेर बुझाउन अभियान सञ्चालनमा ल्याइएकोे न्यौपानेले जानकारी दिए। अभियानद्वारा हरेक शहरमा सिनेमा शिक्षाका विविध पक्ष समेटिने र कार्यशालामा सिनेमासम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यास, सिनेमा इतिहास, चरित्रबारे जानकारी दिइने कलेजका प्रधानाध्यापक राजाराम दाहालले बताए।

अभियानका क्रममा सिनेमाविज्ञले सिनेमाबारे प्रभावकारी जानकारी दिने, अभियान अभ्यास, हाजिरीजवाफ प्रतियोगिता तथा केही छोटो सिनेमाको प्रदर्शनी गरिएको उनले बताए।

कार्यक्रमले विद्यार्थीलाई सिनेमाप्रति जागरुक र जिम्मेवार बनाउने अपेक्षा लिएको प्रधानाध्यापक दाहालले जानकारी गराए। कार्यशालामा वास्तविक जीवनमा देखिएका चरित्रको उदाहरण दिँदै घटना र परिघटना जोड्दै सहभागी विद्यार्थीले तत्काल एउटा कथालाई कसरी पटकथामा रुपान्तरण गर्ने कुरा पनि सिकाइएको छ।

कागजमा लेखिएका विषयलाई कसरी स्रव्यदृष्यमा परिणत गर्ने भनेर त्यही प्रयोगात्मक अभ्यास पनि गरिएको दाहालले बताए। बिर्तामोडको कञ्चनजंघा माध्यमिक विद्यालयबाट शुरू भई जनकपुरको मोनास्टिक स्कुल–कलेज, भानुचौक हुँदै हेटौंडामा साक्षरता अभियानअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो।

यसपछि बुटवल, घोराही, धनगढीमा कार्यक्रम गरी चैत २५ गते पोखरामा समापन गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्