बझाङ उपनिर्वाचन : कांग्रेसको उम्मेदवार चयनमा ढिलाई, आमा बुवा गुमाएका अभिषेकले पाउलान् त न्याय ?



बझाङ ।

आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा १ का लागि हुन लागेको उपनिर्वाचनका लागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवार छनोटमा टुङ्गो लगाउन सकेको छैन।

उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते गर्नु पर्ने भएपनि नेपाली कांग्रेसले भने अहिले सम्म कसलाई उम्मेदवार बनाउने भन्नेमा नै अन्यौल छ।

गत असार ५ गते सुदूरपश्चिम प्रदेश सरकारका कानुन मन्त्री रहेका पृथ्वीबहादुर सिंहको निधन भएपछि हुन लागेको उपनिर्वाचनका लागी नेपाली कांग्रेस बझाङबाट स्वर्गीय सिंहका छोरा अभिषेक बहादुर सिंह सहित १० जनाले उम्मेदवारी दिएसँगै उम्मेदवार चयन गर्ने विषय यति बेला चुनौतीपूर्ण बनेको छ।

उम्मेदवार चयनका लागी चैत २० गते मंगलबार दिउँसो सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठकले पनि बझाङ प्रदेश सभा १ का लागि उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गर्न सकेको छैन। बैठकमा स्वर्गीय सिंहका छोरा अभिषेक बहादुर सिंहको चर्चा भएपनि उम्मेदवारको टुङ्गो भने लागेको छैन।

नेकपा एमाले र माओवादीले उम्मेदवार छनोट गरेर प्रचार प्रसारमा जुटिसक्दा पनि नेपाली कांग्रेसले भने आज मात्रै उम्मेदवार छान्ने जनाइएको छ। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागी नेकपा एमालेले स्वर्गीय सुवाचन्द्र नेवाङका छोरा तथा युवा नेता सुहाङ नेवाङलाई उम्मेदवार बनाएर न्याय दिए जस्तै बझाङमा पनि नेपाली कांग्रेसले स्वर्गीय पृथ्वी बहादुर सिंहका छोरा तथा कांग्रेसका युवा नेता अभिषेक बहादुर सिंहलाई उम्मेदवार बनाएर उपनिर्वाचनमा आम नागरिकले मिलेर जिताउनुपर्नेमा बझाङवासीले जोड दिएका छन्।

बझाङ कांग्रेसमा उपनिर्वाचनका लागी आकाङ्क्षी जति नै भएपनि सबै उम्मेदवारहरू मिलेर अभिषेक बहादुर सिंहलाई जिताए मात्र क्षेत्र नम्बर १ (क) लाई न्याय मिल्ने  उनीहरूको भनाई छ।

सिंहलाई आमा बुवासँगै गुमाउँदाको पिडा एकातिर छ भने उनका बुवाले बझाङ विकासका लागी देखेका सपना पुरा गर्ने हुटहुटी र जिम्मेवारी अर्कातिर रहेको छ।  सिंहले स्व.बुवा पृथ्वी बहादुर सिंहको योगदानलाई आत्मसात् गर्दै जनताको सेवाको लागि काम गर्ने बताउँदै आएका छन्।

‘बुवाले आफ्नो जीवनभर बझाङ जिल्ला वासीको सेवामा लाग्नुभयो, उहाँले धेरै सपनाहरू देख्नु भएको थियो, जिल्लाको शिक्षा, स्वास्थ्य लगायत क्षेत्रको विकासका लागि उहाँले धेरै योजनाहरू बनाउनु भएको थियो, अब ती योजनाहरू मैले पुरा गर्छु, बुवाको सपना मैले साकार गर्छु,’ उनले भने।

को हुन् अभिषेक बहादुर सिंह ?

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री स्वर्गीय पृथ्वी बहादुर सिंहका छोरा तथा नेपाली काँग्रेसका युवा नेता हुन् अभिषेक बहादुर सिंह।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य समेत रहेका अभिषेक बहादुर सिंह २०५५ सालमा नेपाल विद्यार्थी सङ्घको केन्द्रीय महाधिवेशन प्रतिनिधि भएर चितवनमा सहभागी भएका थिए।

२०७२ सालमा नेपाल तरुण दल बझाङ क्षेत्र नं १ (क) क्षेत्रीय सभापति रहेका सिंह नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा जिल्ला कार्यसमिति बझाङको सदस्यमा म्यानअफ द ईलेक्सन भएर विजयी भएका थिए।  ग्रामीण विकासमा स्नातकोत्तर गरेका सिंहले बाल्यकाल देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका थिए।

विगतमा पर्दामा नदेखिए जिल्लावासीलाई उनले सुख र दुःखमा साथ दिएका छन्। उनले विगतमा सबैलाई मिलाएर सहकार्य एवम् समन्वय गरेको र बझाङ विकासका विभिन्न एजेन्डाहरूमा छलफल गरेका छन्। सिंह भन्छन् “बुवाले विकासका लागी देखेका सपना त छँदै छन्, सुखी बझाङ, संवृद्ध बझाङ्गी जनता बनाउने मेरो लक्ष्य रहेको छ।”

स्व.मन्त्री सिंह र कांग्रेसमा उनको योगदान

बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा जेठ ६ गते शनिवार पदभार ग्रहण गरेका थिए।

पदभार ग्रहणपछि कार्यव्यस्तताले  एक महिना पछि गृह जिल्ला भेटघाट, उद्घाटन तथा छलफलका लागी हिँडेका मन्त्री सिंहले खुसी बाँड्न नपाउँदै गाडी दुर्घटनामा परि निधन भएको थियो। मन्त्री सहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको पनि मृत्यु भएको थियो।

बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट निर्वाचित पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा जेठ ६ गते शनिवार पदभार ग्रहण गरेका थिए।

२०३१ सालमा एसएलसी सकेर नेविसंघमा उनी आबद्ध भएका थिए। उनी २०३५ सालतिर नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु सभापति पनि भएका थिए। त्यसै बेला उनी नेविसंघको जिल्ला कार्यसमिति सचिव बने। २०४९ सालमा उनी बझाङको तत्कालीन लुयाटा गाउँ विकास समितिको अध्यक्ष समेत भएका थिए।

२०५४ अघि दुई कार्यकाल नेपाली कांग्रेसको बझाङ जिल्ला सचिव भएका मन्त्री सिंह २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिको उम्मेदवार भए, तर हारे। त्यसपछि १२ वर्ष नेपाली कांग्रेस बझाङको सभापतिमा तीन कार्यकाल जिम्मेवारी बहन गरे। पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य रहेका सिंहले २०७४ सालमा बझाङबाटै प्रतिनिधि सभा सदस्य पदको चुनाव लडे पनि हारेका थिए।

२०७९ मङ्सिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित भएका सिंहले बझाङको विकासका लागि आवाज उठाउँदै आएका थिए।

‘सरकारमा सहभागी भएपछि जिल्लावासीसँग दुःखसुख साटासाट गर्छु, र प्रदेशको हित हुने गरी काम गर्छु’ भनेका मन्त्री सिंह जिल्लावासीलाई धन्यवाद दिन जाँदा दुर्घटनामा परि मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्