दिल्लीसँग विकास साझेदारीको नयाँ खाका कोर्दै नेपाल

२ खर्ब ४० अर्बको भारतीय सहयोग घोषणा, ऊर्जा र पूर्वाधारमा नयाँ सहमति


काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई आर्थिक साझेदारी, ऊर्जा, पारवहन र पूर्वाधार विकासमा केन्द्रित गर्ने नयाँ प्रतिबद्धता व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भएको दुईदिने राजकीय भ्रमणका क्रममा दुई देशबीच आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् । विकास सहायतादेखि जलविद्युत्, रेलमार्ग, पेट्रोलियम पूर्वाधार र उच्च शिक्षासम्मका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ ।

भ्रमणको सबैभन्दा ठूलो आर्थिक घोषणा भारतले नेपाललाई उपलब्ध गराउने २ खर्ब ४० अर्ब नेपाली रुपैयाँबराबरको विकास सहायता हो । यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सुविधा हुनेछ । सहयोगको विस्तृत परियोजना र कार्यान्वयन विधि आपसी परामर्शबाट तय गरिने संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

दुई प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ नामक संयुक्त दूरदृष्टि दस्तावेजसमेत स्वीकार गरेका छन् । परम्परागत आर्थिक तथा विकास साझेदारी, ऊर्जा, जलस्रोत र सम्पर्क सञ्जालसँगै जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनलाई सहकार्यका नयाँ क्षेत्रका रूपमा अघि सारिएको छ ।

त्यसैगरी ऊर्जा सहकार्यअन्तर्गत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) शीघ्र टुंग्याउन तथा सप्तकोशी र सुनकोशी आयोजनाको डीपीआर प्रक्रिया तीव्र बनाउन दुवै प्रधानमन्त्रीले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली सीमापार उच्च क्षमताका प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानीको कम्पनी गठन गर्ने प्रक्रियालाई पनि अघि बढाइने भएको छ ।

पारवहनतर्फ भारतले नेपालको व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला) हुँदै नयाँ मार्ग उपलब्ध गराउने भएको छ । आवश्यक पूर्वाधार तयार भएपछि ओडिसाको पारादीप बन्दरगाहसम्म पनि पहुँच दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

भ्रमणका क्रममा रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा गर्दै पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको छ । त्यस्तै, हाल एकतर्फी रहेको बी ३४५ काठमाडौँ–भैरहवा–लखनऊ हवाईमार्गलाई दुईतर्फी बनाउने निर्णय भएको छ । यससम्बन्धी प्रारूपलाई टुंग्याउन र छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी दुवै पक्षका अरू प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्शहरू गरिने बताइएको छ ।

यद्यपि संयुक्त वक्तव्यमा उक्त परामर्शहरू कहिलेबाट सुरु गरिने भन्ने उल्लेख गरिएको छैन ।
पेट्रोलियम पूर्वाधारतर्फ मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरिएको छ भने झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास तथा सिलिगुडी–झापा पाइपलाइनको काम शीघ्र अघि बढाउने सहमति भएको छ ।

भ्रमणमा सीमासम्बन्धी बाँकी मुद्दालाई पनि समेटिएको छ । सीमा स्तम्भको मर्मत तथा सम्भारमा भएको प्रगतिप्रति सन्तुष्टि जनाउँदै बाँकी सीमा समस्यामा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको छ । तर विवाद समाधानको समयसीमा र ठोस कार्ययोजना सार्वजनिक भएको छैन ।

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण सकेर सोमवार साँझ स्वदेश फर्कनुभएको हो ।


सहकार्यको प्रतिफल आम नागरिकसम्म पुग्नुपर्छ : शाह
घोषित सहयोग द्विपक्षीय साझेदारीको महत्वपूर्ण हिस्सा : मोदी
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा शाहले दुई देशबीचको सम्बन्धलाई पारस्परिक सम्मान, विश्वास र सद्भावनामा आधारित सम्बन्धका रूपमा व्याख्या गर्नुभयो । उहाँले नेपाल–भारत सम्बन्ध हिमालयजस्तै अटल र समुद्र जस्तै विशाल रहेको उल्लेख गर्दै सहकार्यको प्रतिफल आम नागरिकसम्म पुग्नुपर्नेमा जोड दिनुभयो । उहाँले समझदारी र परियोजनाको लाभ किसानको खेत, युवाको रोजगारी, विद्यार्थीको सपना तथा उद्यमी र व्यवसायीका लागि बजार र लगानीका अवसरमा देखिनुपर्नेमा जोड दिनुभयोे । नेपाल भारतीय लगानीकर्ताका लागि खुला रहेको सन्देश दिँदै प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनुभयो ।
संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको विकास यात्रामा भारतको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै दुई देशको समृद्धि एकअर्कासँग जोडिएको बताउनुभयो । उहाँले नेपालको विकास र पुनर्निर्माणका लागि घोषित सहयोग द्विपक्षीय साझेदारीको महत्वपूर्ण हिस्सा भएको जिकिर गर्नुभयो ।
संयुक्त पत्रकार सम्मेलनअघि दुवै प्रधानमन्त्रीले अयोध्या–जनकपुर जोड्ने सरयू–कमला एक्सप्रेस रेलसेवा र भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटर चल्ने सीमापार पुल उद्घाटन गर्नुभएको थियो ।

नेपाल–भारतबीच आदानप्रदान भएका आठ समझदारीपत्र
१. फरेन्सिक विज्ञान तथा अनुसन्धान : भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य ।
२.सुरक्षा तथा प्रहरी तालिम : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच सहकार्य ।
३. निजामती कर्मचारीको क्षमता अभिवृद्धि : भारतको सुशासनसम्बन्धी राष्ट्रिय केन्द्र र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच तालिम कार्यक्रम ।
४. आयुर्वेद तथा परम्परागत चिकित्सा : दुवै देशका सरकारबीच आयुर्वेद र परम्परागत उपचार पद्धतिमा सहकार्य ।
५. भूउपग्रह सञ्चार : भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच दक्षिण एसिया भूउपग्रह उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल स्थापना ।
६. दिगो सहरी विकास : सहरी पूर्वाधार तथा दिगो विकासमा प्राविधिक सहकार्य ।
७. स्वास्थ्य तथा चिकित्सा : दुवै देशका स्वास्थ्य मन्त्रालयबीच स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्य ।
८. पशुपन्छी तथा मत्स्य विकास : पशुपालन र मत्स्य विकासमा प्राविधिक तथा संस्थागत सहकार्य ।


भ्रमणका प्रमुख उपलब्धि एक नजरमा
–विकास सहायता रु. २ खर्ब ४० अर्ब (अनुदान ५६ अर्ब र ऋण सुविधा १ खर्ब ८४ अर्ब)
–जलविद्युत् : ६६९ मेगावाट तल्लो अरुण शिलान्यास
–रेल सम्पर्क : अयोध्या–जनकपुर रेलसेवा उद्घाटन
–पेट्रोलियम : मोतिहारी–अमलेखगञ्ज दोस्रो चरण नेपाललाई हस्तान्तरण
–नयाँ टर्मिनल : झापामा शिलान्यास
–पारवहन : काण्डला र पारादीप बन्दरगाहमा पहुँच
–हवाई सम्पर्क : काठमाडौँ–भैरहवा–लखनऊm रुट दुईतर्फी बनाउने निर्णय
–समझदारीपत्र : ८ वटा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।