गृहमन्त्री लामिछाने र जर्मन राजदूत थोमस प्रिन्जबीच शिष्टाचार भेट



काठमाडौँ

उपप्रधान एवंं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जबीच शिष्टाचार भेटघाट भएको छ। भेटका क्रममा राजदूत प्रिन्जले मन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।

राजदूत प्रिन्जले नेपालको अध्यागमन प्रशासन सुधार गर्नका लागि अत्यावश्यक देखिएको इ-गेट निर्माणमा सहकार्य गर्न खोजिएको जानकारी दिए। उनले जर्मनी जान इच्छुक नेपाली विद्यार्थीका लागि अध्ययन र कामसँग सँगै गर्न मिल्ने गरी भोकेसनल ट्रेनिङ्मा पठाउने विषयमा श्रम, शिक्षा र गृह मन्त्रालयबीच समन्वय हुन नसक्दा अध्यागमनबाट फर्कन परेको गुनासो राखे।

गृहमन्त्री लामिछानेले अध्यागमनलाई अत्याधुनिक बनाई नेपाल भित्रने पर्यटकको आकर्षण र सीमा अपराध न्यूनीकरण गर्नका लागि समेत इ-गेट (सफ्टवयर र हार्डवयर) तर्फ सुधार आवश्यक भएकाले सो सम्बन्धमा अध्ययन र छलफल गरी निष्कर्षमा पुगिने बताए । साथै, भोकेसनल ट्रेनिङ्मा जान इच्छुक विद्यार्थीका लागि आवश्यक समन्वय गरी सहजीकरण गरिने बताए।

राजदूत प्रिन्जले घनिष्ठ सम्बन्ध रहेको देशको नाताले अनन्तकालसम्म साझेदारी, समन्वय र सहकार्य रहने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्