गृहमन्त्री लामिछानेलाई सहकारी ठगी आरोपले जिन्दगीभर लखेट्नेछ: कांग्रेस



काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्‍याएको छ।

कांग्रेसले सो समितिलाई सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न विषय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने अख्तियारी दिनुपर्ने समेत माग गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुमै सो पार्टी सबै सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद रामकृष्ण यादवलाई समय दिएका थिए।

सांसद यादवले सरकार पुनःगठनसँगै लामिछानेमाथिको छानबिन रोकिएर विश्वासको सङ्कट उत्पन्न भएकाले संसदीय छानबिन हुनुपर्ने आवश्यकता औँल्याए।

उनले लामिछाने सञ्चारकर्मीका रुपमा आवद्ध हुँदाका बखत गोर्खा मिडिया प्रालिमा हुँदा सहकारीबाट रु ८० करोड ऋण लिएको र नतिरिएको विषयमा नैतिकताका आधारमा गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरे।

नयाँ गर्छु भनेका लामिछानेले संसदीय छानबिनमा सघाएर आरोपबाट मुक्त हुने बाटो रोज्नुपर्ने उनको भनाइ छ। अन्यथा सहकारी ठगीको आरोपले जीवनभर लखेट्ने उनले बताए। यो आरोपले लामिछानेलाई कहिल्यै नछोड्ने उनको भनाइ छ।

‘कांग्रेसको संसदीय अनुशासन र गरिमालाई सरकारले कमजोरी नठानोस् । अहिले गृहमन्त्री मातहतका निकायले सहकारीको पैसा अपचलनमा निष्पक्ष छानबिन गर्न सक्दैन भनेर संसदीय छानबिन समिति माग गरेको हो,’ यादवले भने ।

सांसद यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग गरे। उनले गृहमन्त्री र सहकारी जोडिएको विषयबाहेक सदन चल्न आफ्नो पार्टीले अवरोध नगर्ने पनि स्पष्ट गरे।

प्रतिक्रिया दिनुहोस्