महाजात्रा मध्यपूर्वमा पनि आक्रामक



काठमाडौं ।

जात्रा र जात्रैजात्रापछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो सिरिज महाजात्राले नेपालसहित विश्वभर आक्रामक व्यापार गरिरहेको छ।

पहिलो साता नेपालमा ६ करोड २४ लाखको ग्रस कलेक्सनसहित विश्वभर दश करोडको ग्रस कलेक्सन गरेको फिल्म हेर्न दोस्रो सातामा पनि दर्शकको भीड लागेको छ। नेपालझैँ विदेशमा पनि दर्शकको उस्तै प्रतिक्रिया र ब्रान्डले निर्माण गरेको हाइपको आधारमा फिल्मले व्यावसायिक रूपमा इतिहास बनाइरहेको निर्माण सूत्रले जानकारी गराएको छ।

अस्ट्रेलिया र अमेरिकाझैँ फिल्मले मध्यपूर्वका देशमा आक्रामक व्यापार गरिरहेको छ। गत चैत १५ देखि मलेसिया, दुबई, बहराइन, ओमान र कतारमा फिल्म प्रदर्शनमा छ। फिल्म नेपालमा जस्तै प्रचारप्रसार गरेर नियमित शो (बक्सअफिस) मा लगाइएको छ।

मध्यपूर्वका देशमा वितरणको अधिकार खरिद गरेको सुप्रिम फिल्म प्रोडक्सन एन्ड डिस्ट्रिब्युसन र प्रदर्शन गरिरहेको कन्सेप्ट भिजनका प्रमुख अनीशसिंह ठकुरीले अघिल्ला सबै रेकर्ड तोड्दै महाजात्राले नयाँ इतिहास बनाउने दाबी गरे।

उनले मध्यपूर्वका ठूला सिनेमा चेनहरू भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशीझै“ नियमित प्रदर्शन भइरहेको बताए।

‘हामीले नेपालमा झैँ फिल्मको प्रचारप्रसार गरेर मध्यपूर्वका देशमा नियमित शोमा प्रदर्शन गरिरहेका छौँ। यो किसिमको रिलिज र फिल्ममा दर्शकको उपस्थिति संभवतः पहिलोपटक भएको हो,’ वितरक ठकुरीको भनाइ छ, ‘फिल्म हेर्न समूह समूहमा दर्शक आइरहेका छन्। हेरेकाले नै अन्यलाई हेर्न सिफारिस गरेपछि अहिले मध्यपूर्वमा महाजात्राले अघिल्ला फिल्मको व्यावसायिक सबै रेकर्ड तोड्दै इतिहास बनाउँदैछ।’

उनले हालसम्म मध्यपूर्वमा पाँच हजार र मलेसियामा १५ सय दर्शकले फिल्म हेरिसकेको जानकारी गराए। प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्मका निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल एवं कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्।

आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्