उम्मेदवार टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै


काठमाडौं ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ।

निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवार निर्धारण गर्न बैठक आह्वान गरिएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजेदेखि बैठक सुरु हुनेछ। प्रारम्भमा संसदीय बोर्डको बैठक हुने तथा त्यसले उम्मेदवारको टुङ्गो लगाएपछि त्यसलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक हुने प्रवक्ता विश्वकर्माले बताए।

उपनिर्वाचनमा उठाइने उम्मेदवारका बारेमा सोमबार साँझ कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्षनेताहरूबीच छलफल भएको थियो।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिसक्नुपर्ने निर्वाचन तालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।