कर्णाली सरकारको नेतृत्व एमालेले गर्ने सहमति



काठमाडौँ।

सत्ता गठबन्धनमा रहेका दलहरुबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएको छ ।

सोमबार काठमाडौंमा बसेको एमाले–माओवादीसहित सत्ता गठबन्धनको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति गरेको हो।

बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, स्वास्थ्यमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । सहमति अनुसार कर्णालीसहित गण्डकी र कोशीको नेतृत्व एमालेले गर्ने भएको छ ।

सहमति लगत्तै प्रचण्डले प्रदेश इन्चार्ज कालिबहादुर मल्ललाई टेलिफोन गरी कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिन निर्देशन दिएका छन् । इन्चार्ज मल्लले पार्टी अध्यक्षले टेलिफोन गरेर कर्णालीको नेतृत्व एमालेलाई दिन निर्देशन दिएकाे बताए । उनले भने, ‘केन्द्रमा निर्णय भएर हामीलाई सर्कुलर आइसकेको छ । निर्णय मान्छौं ।’

माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । माओवादीका नेताहरुले पनि कर्णालीमा माओवादीकै मुख्यमन्त्रीले निरन्तरता पाउनुपर्ने भन्दै पार्टी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेको थिए।

कर्णाली प्रदेश सभामा ४० सांसद रहेका छन् । जहाँ सरकार निमार्णका लागि २१ सांसदको समर्थन आवश्यक पर्दछ । प्रदेश सभामा माओवादीका १३ जना सांसद छन्, भने एमालेका १० र एकीकृत समाजवादीका १ सांसद छ । यता कांग्रेससँग १५ र राप्रपासँग एक जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्