उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक जेर्भोसबीच शिष्टाचार भेट



काठमाडौँ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोसका बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ। जेर्भोसले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विश्व बैङ्कले सामाजिक संरक्षण, डिजिटाइजेशन तथा विपद् व्यवस्थापन समेतका क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए।

जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत परियोजनाहरूबाट हुन सक्ने विपद् जोखिमलाई मध्यनजर गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तिनै तहका सरकारका संस्थागत क्षमता विकासमा सहयोग गर्न इच्छुक रहेको बताए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विश्व बैङ्कले नेपाललाई भूकम्प पश्चात्‌को पुनरर्निर्माण, सामाजिक संरक्षण, विपद् व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगको लागि आभार प्रकट गरे। नेपाल र विश्व बैङ्कका बीचमा हुने सहकार्यलाई सहज एवं प्रभावकारी बनाउन विगतमा भए गरेका समझदारी पत्र, सम्झौता, प्रतिबद्धता तथा संवादहरूको पुनरावलोकन गर्दै आगामी दिनमा सबल र प्रभावकारी सहकार्य हुने विश्वाससमेत व्यक्त गरे।

मन्त्री लामिछानेसँग आजै संयुक्त राष्ट्र सङ्घीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर) का देशीय प्रतिनिधि क्यारोलिन स्पान्नथ बर्माले पनि शिष्टाचार भेटघाट गरे। भेटघाटका क्रममा बर्माले मन्त्री लामिछानेलाई बधाई तथा नयाँ कार्यकालको शुभकामना व्यक्त गरे। उनले लामो समयदेखि युएनएचसीआर र गृह मन्त्रालयका बीचमा शरणार्थी मामिलाका सम्बन्धमा सौहार्दपूर्ण समन्वय र सहकार्य हुँदै आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अझ सबल र प्रभावकारी सहकार्य हुने विश्वास प्रकट गरे।

यसैगरी उपप्रधान तथा गृह मन्त्री लामिछानेले नेपालको शरणार्थी मामिलालाई व्यवस्थित गर्न युएनएचसीआरले विभिन्न समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे। शरणार्थी मामिलाका सन्दर्भमा आइपर्ने विभिन्न विषयमा परस्पर समन्वय र सहकार्य गर्न मन्त्रालय सधैं तयार हुने उनको भनाइथियो।

प्रतिक्रिया दिनुहोस्