चलचित्र संघमा १२ वर्षपछि भयो निर्वाचन, नरेन्द्र महर्जनको अध्यक्षमा नयाँ कार्यसमिति



काठमाडौं ।

फिल्मसँग सम्बन्धित सबैभन्दा पुरानो संगठन नेपाल चलचित्र संघमा १२ वर्षपछि निर्वाचन प्रक्रियाबाट नया कार्यसमिति निर्वाचित गरिएको छ।

शनिबार मध्यरातिसम्म भएको निर्वाचनबाट संघका निवर्तमान महासचिव नरेन्द्र महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।

यसबीचमा संघमा निर्विरोध अध्यक्ष र सदस्य चयन तथा अध्यक्षबाट पदाधिकारी चयन गर्ने परम्परा चल्दै आएको थियो। तर, १२ वर्षअघि राजकुमार पोखरेल र रामवीर मानन्धरबीच समझदारी बन्न नसकेपछि निर्वाचन भएको थियो। निर्वाचन प्रक्रियाबाट रामवीर मानन्धरलाई पराजित गर्दै पोखरेल अध्यक्ष भएका थिए।

करिब ७० वर्षअघि गठित नेपाल चलचित्र संघको शनिबार सम्पन्न ४९औं वार्षिक साधारणसभामा नरेन्द्र महर्जन आफ्ना प्रतिद्वन्द्वी कुवेर शर्मालाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन्।

शर्मा ४६ मतमा सिमित भएका थिए भने महर्जन एक सय चार मतसहित विजयी भएका थिए। त्यसै गरी सदस्यहरूमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, देवेन्द्र खड्गी, गोविन्द शाही, प्रज्ज्वल राणा, ओमप्रकाश जैशी, आशिष तामाङ, छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ र सुरेन्द्र थापा निर्वाचित भएका छन्।

संघको विधानअनुसार सदस्यमा निर्वाचितमध्येबाट अध्यक्षले पदाधिकारी चयन गरी कार्यविभाजन गर्नेछन्। नवनिर्वाचित अध्यक्ष महर्जनले आगामी २६ गते कार्यविभाजन गर्ने जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्