महाजात्रा मन जित्दै दोस्रो सातामा



काठमाडौं ।

जात्रा र जात्रैजात्राको सुपरहिट सिरिज फिल्मपछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग महाजात्रा प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ।

देशभरका एक सय हाराहारी हलमा प्रदर्शनरत फिल्मले अघिल्लो साताझैँ यस सातामा पनि उच्च शो पाएको हो। दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्रान्डले निर्माण गरेको हाइटको आधारमा फिल्मलाई देशभरका सिनेमा हलले उच्च शो दिएका हुन्।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्ममा फणीन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा)बीचको मित्रताको रोमाञ्चक कथा देखाइएको छ। पहिलो सातामा पाएको दर्शकको मायाले दोस्रो साताका लागि प्रचार गरिदिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए।

‘पहिलो साता काठमाडौं उपत्यकाका हलमा दर्शकसँग साक्षत्कार गर्दा हामीले पाएको प्रतिक्रियाले थप हौसला मिलेको छ। उहाँहरूले मध्यान्तर अगाडि मनोरञ्जन लिनुका साथै मध्यान्तरपछि देखाइएको देशको समसामयिक विषयलाई रुचाउनुभएको छ। हामीले मनोरञ्जनसँगै दिन खोजेको सन्देशलाई दर्शकले ग्रहण गर्नुभएको छ,’ निर्देशक भट्टराईले भने।

हल भ्रमणका क्रममा आफूले परिवार नै फिल्म हेर्न आएको पाएको अभिनेता रवीन्द्रसिंह बानियाँले बताए। ‘हलमा परिवार नै दर्शक बनेको पाएँ। ३५ वटासम्म टिकेर काटेर परिवार नै हेर्न आएका छन्। उहाँहरू फर्किदै गर्दा पनि समय र पैसाको सदुपयोग भएको भन्दै खुसी हुनुहुन्थ्यो, त्यो सन्तुष्टि नै हाम्रो सफलता हो,’ अभिनेता बानियाँले भने। फिल्मले नेपालमा मात्र नभएर विदेशमा पनि भव्यताका साथ व्यापार गरिरहेको छ।

पहिलो साता अस्ट्रेलिया, युरोपका विभिन्न देशमा आयोजित शो सोल्ड आउट भएका छन् भने अमेरिका र बेलायतमा नियमति बक्सअफिसमै प्रदर्शन भइरहेको छ। अन्तर्राष्ट्रिय वितरण कम्पनी एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार आयोजित शो सोल्ड आउट हुनु र दर्शकबाट सकारात्मक वर्ड अफ माउथ पाउनुले फिल्म दोस्रो सातामा पनि नियमति प्रदर्शनमा हुने देखाएको छ।

फिल्म बिहीबारदेखि मध्यपूर्वका देशमा समेत प्रदर्शन सुरु भएको छ। तीन पात्रले जीविकोपार्जनका लागि गर्ने संघर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको फिल्म पहिलो साता नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलगायत विशिष्ट व्यक्तिले हेरेर सकरात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।

यसैबीच देशकै ठूलो चेन क्युएफएक्स सिनेमाजले महाजात्रालाई सुपरहिट फिल्म घोषणा गरेको छ। क्युएफएक्सले पहिलोपटक नेपाली फिल्मलाई यसरी आफ्नो वेबसाइटमार्फत् सुपरहिटको ट्याग दिएको हो। क्युएफएक्सअन्तर्गत रहेका देशभरका हलमा पहिलो विकेन्डमा फिल्मले गरेको कलेक्सनको आधारमा यो घोषणा गरिएको हो।

आपत्कालीन रूपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने रोमाञ्चक सङ्घर्ष देखाइएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्