एनिमेटेड फिल्म सलिनाको ट्रेलर



काठमाडौं ।

नेपालकै पहिलो एनिमेटेड फिल्म सलीनाको ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा फिल्मको केही कथा बुझाउने एनिमेटेड पात्रलाई प्रस्तुत गरिएको छ। फिल्म यही शुक्रबारबाट रिलिजमा आउँदैछ।

रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा एनिमेसन प्रविधिबाट तयार पारिएको फिल्मको सम्पूर्ण एनिमेसन कार्य नेपालमै गरिएको छ। तेजसराज जोशीले निर्देशन गरेको फिल्म निर्देशक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन्।

फिल्म्म शिव पुरी र श्रुति श्रेष्ठले संयुक्तरूपमा सम्पादन गरेका छन्। नेपाली भाषामा फिल्म निर्माण थालिएको ६ दशकमा बल्ल पहिलो एनिमेटेड फिल्म बनेको हो।

संगिन महर्जन, अविनाशसिंह थारू र शिरभा मानन्धरको ग्राफिक रहेको फिल्ममा पाश्र्व स्वर सुशील नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाशसिंह थारू, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकारको रहेको छ।

सलीनाको कथा दन्त्य कथाको जस्तै राजकुमारी हो। असाधारण उद्देश्यले जन्म भएकी राजकुमारी अन्य पात्रसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् । यसैको सेरोफेरोमा फिल्मको कथा आगाडि बढेको छ।

फिल्मलाई सेन्सरबोडले यू सर्टिफिकेट दिएको छ। फिल्म विशेष गरेर बालबालिका लक्षित भएपनि सबैका लागि उपयुक्त रहेको निर्देशक तेजसराज जोशीले बताए। ‘यो फिल्म निर्माणका लागि ६ वर्ष लागेको छ,’ जोशीले जानकारी गराए, ‘फिल्म अन्तर्राष्ट्रियस्तरको बनेको छ।’

प्रतिक्रिया दिनुहोस्