महाजात्राले प्रिमियरबाट पायो लोभलाग्दो प्रतिक्रिया, देशभरका हलले दिए २ सय ५० शो

238
Shares

काठमाडौं ।

सुपरहिटी सिरिज फिल्म जात्रा र जात्रैजात्रापछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो शृंखलाले प्रिमियरमा प्रशंसा पाएसँगै यसको हाइटको आधारमा देशभरका सिनेमा हलले उच्च शो उपलब्ध गराएका छन्।

आज शुत्रबारबाट नेपालसँगै नेपाली रहेका विश्वका विभन्न देशबाट एकसाथ रिलिज हुने फिल्मलाई प्राप्त शोले महाजात्राले दमदार ओप्निङ गर्ने अनुमान गरिएको छ।

फिल्मलाई मल्टिप्लेक्स चेन क्युएफएक्सले देशभरका आउटलेटमा ६७ शो दिएको छ। क्युएफएक्सअन्तर्गत दरबार सिनेम्याक्समा पाँच शो, भक्तपुरमा ६ शो, लबिम मलमा पाँच शो, सिभिल मलमा पाँच शो, ठमेलको छायाँ सेन्टरमा सात शो दिइएको छ।

क्युएफएक्सकै नेपालगन्जमा ६ शो, बुटवलमा पाँच शो, दमौलीमा चार शो, नारायणघाटको जलमामा सात शो, विराटनगरमा ६ शो, बिर्तामोडमा पाँच शो, विरगंजमा दुई र इटहरीमा पाँच शो दिइएको छ।

काठमाडौंका मल्टिप्लेक्सअन्तर्गत कमलपोखरीको सिटी सेन्टरमा रहेको बिग मुभिजले पाँच शो, दरबारमार्गको राइजिङ मलको क्युज सिनेमाजले नौ शो, गोंगबको बिएसआर मुभिजले ६ शो, सुन्धाराको सिटिसी मलको सिने डी सेफले ६ शो, चाबहिलको केएलटावरले एफक्युबमा सात शो, जमलको विश्वज्योति सिनेमाजले आठ शो, न्युरोडेको रन्जना सिनेप्लेक्सले नौ शो, कीर्तिपुरको किर्तिपुर सिनेप्लेक्सले पाँच शो, सितापाइलाको सिने सिनेमाजले सात शो, गोंगबुको इन्फिनिटी मुभिजले पाँच शो, बानेश्वरको वान सिनेमाजले नौ शो र कालिमाटीले सात शो दिएका छन्।

त्यसै गरी आइएनआई सिनेमाजअन्तर्गत लोत्से मलले पाँच शो, बानेश्वरेको आइएनआईले पाँच शो र बुटवलको आइएनआइले पाँच शो दिएको छ।

देशभर प्राप्त शो आफूहरूमाथिको विश्वास रहेको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए। यसअघिका फिल्मलाई विश्वास गरेर हलसम्म पुग्ने दर्शकको समय र पैसा खेर नजाने उनले बताए।

राजधानीमा मंगलबार राति सम्पन्न महाजात्राको प्रिमियर शो हेर्नेहरूले यसलाई जात्रा शृंखलाकै उत्कृष्ट भन्दै लोभलाग्दो प्रतिक्रिया दिएका छन्।

प्रिमियरका सहभागीले प्रदीप भट्टराईको लेखन तथा निर्देशन, हरिवंश आचार्यको नेताको पात्र, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेललगायत सम्पूर्ण कलाकारको अभिनयको खुलेर तारिफ गरेका छन्।

अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरिरहँदा समय बितेको पत्तै नपाएको जनाउँदै महाजात्राको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र सन्देशको खुलेर तारिफ गरे।

‘फिल्म राम्रो र रमाइलो बनेको छ। कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ। यसले सन्देश दिन्छ, तर जात्राकै शैलीमा’ अभिनेता श्रेष्ठले भने। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशक भट्टराईबाट अपेक्षा गरिने मनोरञ्जनात्मक र सन्देशमूलक फिल्म बनेको प्रतिक्रिया जनाएकी छन्।

‘फिल्म हेरिरहँदा एउटा मात्र पक्षको तारिफ गर्न सकि“दैन। किनकि समग्रमा फिल्म नै राम्रो बनेको छ। कलाकारले पनि निकै मिहिनेत गरेका छन्,’ दीपाश्रीको प्रतिक्रिया थियो।

गायक तथा अभिनेता प्रकाश सपूतले महाजात्रा समसामयिक विषयवस्तुमा सुन्दर फिल्म बनेको बताए। ‘जात्रादेखि नै बनिरहेको शृंखलामा मनोरन्जनसँगै जीवनका सबै रंग समेटिएका छन्। फिल्म हेरेर एकदमै हास्न पाइन्छ, सँगसँगै रुन पनि पाइन्छ। यसमा विचार समेटिएको छ, एउटा दर्शकले फिल्म हेर्दा जे–जे खोज्छ त्यो सबै समेटिएको छ। यसमा देखाइएका विषय गम्भीर छन्, तर प्रस्तुति दर्शकले बुझ्ने किसिमले तयार गरिएको छ। यो पर्फेक्ट फिल्म हो,’ गायक सपूतले भने।

अभिनेत्री केकी अधिकारीले फिल्म हेरिरह“दा बलिदान फिल्मको हरिवंश आचार्यको याद आएको प्रतिक्रिया दिइन्। ‘जात्राका पात्रहरूसँगै थपिएका पात्र पनि महत्वपूर्ण छन्। यसमा अनुहारका लागि मात्र अभिनय गराइएको छैन। मैले हेरुञ्जेल कहींकतै बोर फिल गरिनँ, म दर्शकलाई पनि फिल्म हलमा स–परिवार हेर्न आग्रह गर्छु,’ अभिनेत्री अधिकारीले भनिन्।

हास्य अभिनेता किरण केसीले फिल्मले सम्पूर्ण वर्गका दर्शकलाई आकर्षित गर्ने बताए। ‘यसले फिल्मी शैलीमा दिएको सन्देश महत्वपूर्ण छ। यो जात्रा शृंखलाको उत्कृष्ट फिल्म हो,’ कलाकार केसीले भने।

अभिनेता तथा हास्य कलाकार जीतु नेपालले फिल्ममार्फत राजनीतिज्ञले सन्देश पाउने बताए। ‘फिल्म पूर्ण प्याकेज बनेको छ। एउटा पक्षमात्र राम्रो भएर फिल्मले यत्तिको तारिफ पाउँदैन। यो दर्शकले छुटाउनै नहुने फिल्म बनेको छ,’ जितुको भनाइ थियो।

अभिनेता हरिवंश आचार्यले फिल्म लेखिएको भन्दा राम्रो बनेको बताए। ‘मैले भन्दै आइरहेको कुरा नै आज फिल्म हेरेपछि सबैले भन्नुभयो। स्क्रिप्ट राम्रो भएपछि निर्देशक भट्टराईले मन हास्ने फिल्म बनाउँछन् भन्नेमा आशावादी थिएँ, अहिले सबैले त्यही भन्दा डबल हर्षित छु,’ अभिनेता आचार्यले भने।

अभिनेत्री वर्षा राउतले सबैले दिएको प्रतिक्रियाले दंग परेको जनाइन्। ‘फिल्मको पात्रसँग हलमा रहेका दर्शक कनेक्ट भएको पाउँदा म निकै खुसी छु,’ अभिनेत्री राउतले भनिन्।

अभिनेता विपिन कार्कीले जात्रा र जात्रैजात्राभन्दा बढी मनोरञ्जन महाजात्रामा पाइने दाबी गरे। ‘यसबाट अघिल्ला शृंखलाभन्दा बढी माया पाउनेमा विश्वस्त छु। मलाई हिरो बनाएको र चिनाएको फिल्म नै जात्रा शृंखला हो। यो मेरो करिअरलाई अगाडि बढाउने फिल्म हो। जात्राले झैँ महाजात्राले पनि मलाई नयाँ उचाइमा पर्‍याउनेछ,’ अभिनेता कार्कीले भने।

लेखक तथा निर्देशक भट्टराईले फिल्मले प्राप्त गरिरहेको प्रतिक्रियाले डर भागेको बताए। ‘हामीलाई मन परेर र राम्रो लागेर नै फिल्म बनाएका थियौँ। हाम्रो प्रस्तुतीकरणमा आज प्रिमियरमा फरक ठाउँ र फरक वर्गका दर्शकले उत्कृष्ट छ भन्नु हुँदा हाम्रो टिम र समूहलाई विश्वास गरेर हलसम्म आउने दर्शकको पैसा र समयको सदुपयोग हुन्छ। जात्रामा हामीले तीन साथीको कथा भनेका थियौँ भने यसपटक राष्ट्रिय विषयलाई पनि जोडेका छौँ,’ निर्देशक भट्टराईले खुलाए।

निर्माता म्याक्स दीपेश खत्रीले महाजात्रा आज शुक्रबारबाट नेपालसँगै विश्वभर प्रदर्शन हुने जानकारी गराए। ‘मध्यपूर्वका देशमा भने मार्च २८ मा प्रदर्शन हुँदैछ। अन्य ठाउ”मा हाम्रा शो खुलिसकेका छन् भने अस्ट्रेलियाको राजधानी क्यानबेरामा पहिलो शो सोल्ड आउट भइसकेको छ। साथै, साउदी अरेबियामा पहिलोपटक नेपाली फिल्मको रूपमा महाजात्रा प्रदर्शन हुँदैछ,’ निर्माता खत्रीले जानकारी गराए।

आपतकालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोमाञ्चक शैलीमा प्रस्तुत गरिएको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतले अभिनय गरेका छन्।