जातका आधारमा हुने विभेद सहनै नसकिने अपराध : प्रदीप खड्का

140
Shares

काठमाडौं ।

सामाजिक कथामा निर्माणाधीन फिल्म पुजार सार्कीमा उठान गरिएका विषयवस्तुमाथि पोखरामा संवाद गरिएको छ।

मिजार समाज नेपाल, गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न कार्यक्रममा फिल्मका कलाकारहरू आर्यन सिग्देल र प्रदीप खड्का, निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुभाष भुसालका साथमा अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा संविधानसभा सदस्यसमेत रहिसकेका दिलबहादुर नेपाली, मिजार समाज पोखराका अध्यक्ष उमेश सिकेले पूजार सार्कीमाथि संवाद गरेका थिए। संवादमा पुजार सार्कीले उठान गरेको अन्तरजातीय विवाहसम्बन्धी मर्मस्पर्शी सामाजिक कथालाई प्रमुख विषय बनाइएको थियो।

कार्यक्रममा अभिनेता आर्यन सिग्देलले जातीय विभेद गर्नु अन्धविश्वास मात्र भएको चर्चा गरे। अभिनेता प्रदीप खड्काले आफू काठमाडौंमा जन्मे हुर्केका कारण यस प्रकारका कथा सुने पनि पहिलोपटक भोगेको बताए।

उनले आफूले अभिनय गरिरह“दा मैतबहादुर पात्रभित्र नै प्रवेश गरेकाले आफ्नै कथामा अभिनय गरेको अनुभुति सुनाए। उनले जातका आधारमा हुने विभेद आजको युगमा सहनै नसकिने अपराध भएको जनाउँदै चेतनशील नागरिकबीच एकता आवश्यक रहेको बताए।

लेखक विकास सुवेदीले आफ्नो आँखाले देखेको कथालाई फिल्मको कथाका रूपमा रुपान्तरण गरेको बताए। कार्यक्रममा फिल्म युनिटलाई सम्मान पनि गरिएको थियो।

कास्कीको पोखरानजिकै पर्ने कास्कीकोट र आसपासमा सुटिङ गरिएको पुजार सार्कीमा अभिनेत्रीद्वय अन्जना बराइली र परीक्षा लिम्बूले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन्।