सिड्नी ब्लुजमा पुष्पल र अञ्जना



काठमाडौं ।

शंकर कार्कीको निर्देशनमा सिड्नी ब्लुजनामक फिल्म निर्माण हुने भएको छ। फिल्ममा अभिनेता पुष्पल खड्का, अञ्जना बराइली, रवीन्द्र झा, शिव आर. ठकुरीलगायतले प्रमुख भूमिकामा अभिनय गर्नेछन्। शिव आर. ठकुरीले यही फिल्ममार्फत नेपाली सिनेमा नगरीमा डेब्यू पाउने भएका हुन्।

जुन २०२४ को पहिलो सातबाट सुटिङ हुने फिल्म देशको सम्भावनालाई नकारी विदेशमा जीवन बिताउने वर्तमान युवाको कथामा बन्ने निर्देशक कार्कीले जानकारी गराए।

‘अस्ट्रेलिया बस्ने युवक, जसको जीवन बाहिरबाट देख्दा निकै सुन्दर लाग्छ, तर यथार्थमा अन्धकार छ। यो फिल्ममा प्रतिनिधि युवाको कथा भन्ने प्रयास गर्नेछु,’ निर्देशक कार्की भन्छन्।

उनका अनुसार फिल्मको ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा सुटिङ हुनेछ। यसमा नेपाली फिल्ममा खासै प्रयोग नगरिएको मिनेचर सेट र प्रोस्थेटिक मेकअपको प्रयोग गरिने पनि उनले बताए।

अभिनेता पुष्पलले फिल्ममा चार किसिमको लुक्स र चुनौतीपूर्ण भूमिकामा अभिनय गर्ने जनाउ“दै निर्देशकको सोचलाई पूरा गर्न सकेजति मिहिनेत गर्ने बताए।

आर्ट मुभिज्को प्रस्तुति र डी मिडियाको ब्यानरमा आरती शाहीले निर्माण गर्ने फिल्ममा कथा शिव आर. ठकुरी, पटकथा किरण घिमिरे (माइकल), कोरियोग्राफी रामजी लामिछाने र छायांकन सुसन प्रजापतिको रहनेछ।

सन् २०२४ डिसेम्बरमा रिलिज गरिने फिल्ममा तारा नेपाली कार्यकारी निर्माता र धर्म सुवेदी एसोसियट निर्माता रहनेछन्।

प्रतिक्रिया दिनुहोस्