महाजात्राप्रति वर्षा र रवीन्द्रको विश्वास



काठमाडौं ।

दर्शकसँगै अभिनेत्री वर्षा राउत पनि रिलिजको तयारीमा रहेको फिल्म महाजात्रालाई लिएर उत्साहित छिन्। जात्रा र जात्रैजात्रा हुँदै आगामी शुक्रबार रिलिज र आज मंगलबार प्रिमियर शो हुन लागेको तेस्रो शृंखला महाजात्रासम्म आइपुग्दा उनले यसको टिमलाई निर्धक्क विश्वास गरेकी छिन्।

विपिन कार्की थियटरबाट खारिएर आएका कलाकार, वर्षौं म्युजिक भिडियोबाट जात्रामा प्रवेश गर्दा पक्कै असहज त भयो होला। ‘शुरूमा कसरी काम गर्ने होला भन्ने नसोचेकी होइन। तर, भेटघाट भयो, प्रेमविवाह गरेको क्यारेक्टर भएकाले हामीबीच कुरा सेयर गर्न लजाउनुहुँदैन भनेर त्यहीअनुसार वर्कसप गर्‍यौं। त्यसले सेटमा निकै सहज बनायो। अहिले त हामी फिल्मी परिवार नै भइसकेका छौं,’ वर्षाले सुनाइन्।

दर्शक र फिल्म क्षेत्रबाटै प्रतीक्षा गरिएको महाजात्रामा पनि उनी सम्पदा (सम्पु) बनेकी छिन्। ‘सम्पु एउटा असल र इमान्दार महिला हो। त्यही भएर उसले फणीन्द्रसँग जीवन बिताउने निर्णय गरेकी हुँ। प्रेमविवाह गर्न सम्पुलाई फणीन्द्रको इमान्दारिताले आकर्षित गरेको हो। ऊ महाजात्रामा अझै सङ्घर्षशील गृहणी बनेकी छ। परिवारमा छोरी थपिएसँगै अहिले अरूको घरमा गएर काम गर्ने, आम्दानी बढाउन मिहिनेत गर्ने गृहणी बनेकी छ,’ वर्षाले आफ्नो भूमिका खेलाउँदै भनिन्।

फिल्ममा उनको प्रेम विवाह भएको देखाइएको छ। तर प्रेम प्रसंग भने निकै कम छ। वर्षा भन्छिन्, ‘हाम्रो प्रेम कथालाई जात्रै जात्रामा देखाइएको थियो। त्यसलाई दर्शकले पनि रुचाउनुभयो। हाम्रो परिवार नै संघर्षमा छ, जहाँ प्रेमसँगै अन्य विविध पाटो चित्रण गर्नुपर्नेछ। फेरि मूल कथा नै जात्राको हो। त्यसकारण यसमा चाहिनेजति प्रेम छ।’

वर्षा पहिलो फिल्ममा नायिका, दोस्रोमा श्रीमती र तेस्रोमा आमा बनेकी छिन्। यसबारे भन्छिन्, ‘त्यस्तै भयो। तर, म आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोचसहित आएकी थिएँ। म हिरोइनमै सीमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँदा पनि ती भूमिका गर्न हुन्न भन्ने नै लागेन,’ उनले भनिन्।

वर्षाको भनाइमा महाजात्राचाहिँ के हो त?

‘यो एउटा पारिवारिक र सामाजिक फिल्म हो। हामीले देखिरहने घटनालाई यसमा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। यहाँ परिवार, मित्रता र समाजको जात्रा छ। भिन्न तीन पृष्ठभूमिबाट आएका पात्रले सिंगो नेपालको प्रतिनिधित्व गर्छन्,’ वर्षाले खुलाइन्। डेब्यु वर्षमै तीन सफल फिल्म दिए पनि वर्षाले गर्दै आएका भूमिकामा खासै भिन्नता देखिँदैन।

खासमा किन त?

वर्षा भन्छिन्, ‘कुनै पनि कलाकारलाई टाइपकास्ट हुन मन हुँदैन। तर, निरन्तरता पनि हाम्रो बाध्यता हो। हामीले आइरहेको प्रस्तावमा राम्रो लाग्ने भूमिका छनोट गर्नुपर्छ। केही समय फिल्ममा देखिएन भने फलानो हरायो भन्ने हुन्छ। त्यसैले आफूलाई पर्दामा ल्याइराख्नुपर्ने दबाबसँगै फरक गर्नुपर्ने चुनौती कलाकारलाई हुन्छ।’

महाजात्राकै पहिलो शृंखला जात्रामा मुन्नाको रूपमा देखिएका रवीन्द्र झालाई त्यही भूमिकाले स्थापित गरिदियो। महाजात्रामा पनि फणीन्द्र (विपिन कार्की) र जोएश (रवीन्द्रसिंह बानियाँ) सँग उनको समान्तर भूमिका छ।

‘मुन्ना सोझो व्यक्ति हो। तर, उसको जिम्मेवारीले उसलाई प्रलोभनमा पर्न प्रेरित गर्छ। मधेशबाट काठमाडौं आएको मुन्नाको आवश्यकता बढ्दै गएपछि उसले साथीस“ग विविध काममा सहकार्य गरेको हो,’ अभिनेता झा भन्छन्,‘सुन र पैसा देखेर भाग्ने मुन्नालाई आवश्यकता र परिस्थितिले गडबड गर्न बाध्य बनाए पनि उसले कसैको हत्या वा नोक्सानी गर्ने नियत राख्दैन। महाजात्रा रमाइलोसँगै सन्देशमूलक बनेको छ।’ रवीन्द्र थप्छन्, ‘फिल्मले अघिल्ला शृङ्खलाभन्दा बढी रमाइलो गराउँछ नै, सन्देश पनि दिन्छ। गम्भीर विषयवस्तुलाई निर्देशक भट्टराईले फिल्मी शैलीमा रमाइलो किसिमले प्रस्तुत गर्नुभएको छ। यो फिल्ममा सबै वर्गले आफ्नो कथा भेट्नुहुनेछ। मेरो भूमिकाले धेरै कुरालाई इंगित गरेको छ। मधेशबाट आएको पात्रले कसरी काठमाडौंमा सङघर्ष गरिरहेको छ भन्ने देख्न सकिन्छ।’

उनले नेपालका हरेक कुनामा पुग्ने र सहजै समाजअनुसार आफूलाई ढाल्ने सक्ने सन्देश पनि फिल्मले दिने बताए। ‘नेपालमा कसैलाई कहीँ बस्न, व्यापार गर्न विभेद छैन। मुन्ना सपना बोकेर आएको थियो, उसलाई सुख दुःखमा साथीले साथ दिइरहेका छन्। यो पात्रले भन्न खोजेका त्यस्ता धेरै विषय छन्,’ रवीन्द्र गफिन्छन्।

आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको महाजात्रामा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङदेल, गौमाया गुरुङ, अरविन खड्कालगायतले अभिनय गरेका छन्।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलद्वारा निर्मित फिल्ममा जितबहादुर रुवाली एसोसियट निर्देशक, आशिष अविरल र कालीप्रसाद बा”स्कोटा संगीतकार, कविराज गहतराज नृत्य निर्देशक, कुमार महर्जन द्वन्द्व निर्देशक र पुरुषोत्तम प्रधान छायांकार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्