नागरिकता बिक्री प्रकरण : काभ्रे प्रहरीद्वारा दुई अधिकृत पक्राउ



काभ्रे ।

विदेशी नागरिकहरूलाई नागरिकता बिक्री गरेको अभियोगमा गृहमन्त्रालयद्वारा गठित छानबिन समितिले दिएको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेले दुई अधिकृत पक्राउ गरी अनुसन्धान शुरू गरेको छ।

प्रहरीले एक साताअघि वागमती प्रदेश सभा सचिवालयबाट अधिकृत रामचन्द्र अर्यालयलाई पक्राउ गरेको थियो भने शुक्रबार साँझ मेलम्ची नगरपालिकाबाट अर्का अधिकृत झपेन्द्रराज खरेललाई पक्राउ गरेको हो।

काभ्रे प्रहरीका सूचना अधिकृत डीएसपी राजकुमार श्रेष्ठका अनुसार दुवै अधिकृतलाई म्याद थप गरी अनुसन्धान शुरू गरिएको छ। शुक्रबार पक्राउ परेको अधिकृत खरेल तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेमा अधिकृत पदमा कार्यरत थिए भने अर्याल सुब्बा पदमा कार्यरत थिए।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बेल्जियम नागरिक दावा छिरिङ भनिने निमा तामाङ भएको झुट्टा विवरण पेस गरी नागरिकता लिएको मुद्दामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

खरेललाई निमाको अलावा राजु गुरुङ र कुलानन्द भण्डारीलाई समेत झुटो विवरण राखेर नागरिकता दिएको अभियोग छ। उनीहरू तिनै जनाको नागरिकतामा झपेन्द्रराज खरेलको हस्ताक्षर रहेको छ।

दावा छिरिङले निमा तामाङका नाममा २०७४ पुष २० गते ३०–०१–७४–११८६८ नागरिकता लिएका थिए भने चितवन घर भई काठमाडौं बसोबास बस्दै आएका राजु गुरुङले २०७४ मंसिर १३ गते ३०–०१–७४–१०९७७ नम्बरको नागरिकता लिएका थिए । त्यस्तै, कुलानन्द भण्डारीले २०७४ पुष २० गते नै ३०–०१–७४–०८००४ नम्बरको नागरिकता लिएका थिए।

उनीहरू सबैले झुटो विवरण राखेको अनुसन्धानमा खुलेको छ। उनीहरूलगायत सोही अवधिमा ३ सय ५० वटा नागरिकता अनुसूचीबिना जारी गरेको खुलासा भएको छ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका निमा लामासहित ३ सय ५० जनाले नागरिकता खरिद गरेको तथ्य सार्वजनिक हुँदासमेत गृह मन्त्रालयले निमाबाहेक अन्यको हकमा छानबिन गर्न चासो नै दिएन।

गृहले चासो नदिएपछि जिल्ला प्रशासन कार्यालयले समेत वास्ता गरेको छैन । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा दोस्रोपटक राहदानी लिन आएका चितवन स्थायी घर भई काठमाडौंमा बसोबास गर्ने राजु गुरुङले प्रहरीसमक्ष जिल्ला प्रशासन कार्यालय काभ्रेका कर्मचारीहरूमार्फत् नागरिकता र राहदानी ३–४ लाख रुपियाँमा किनेको बयान दिएका थिए।

प्रतिक्रिया दिनुहोस्