कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन : गृहमन्त्री लामिछाने



काठमाडौं ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताएका छन्। सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको आइतबार निरीक्षण भ्रमण तथा वरिष्ठ अधिकृत सम्मेलन कार्यक्रममा उनले कानुन कार्यान्वयनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेले भने, “कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन । कार्य सम्पादनपछि प्रतिवेदन पेस गरे हुन्छ । कानुन कार्यान्वयनमा ढिलासुस्ती, जिम्मेवारी बहनमा आलटाल र नागरिकलाई दुःख–हैरानी दिनेलाई पनि कानुन लाग्छ भन्ने ख्याल गर्नुहोला ।”

उनले सशस्त्र प्रहरी बललाई पाँचबुँदे निर्देशन दिँदै गैरव्यावसायिक आचरण कुनै पनि हालतमा क्षम्य नहुने स्मरण गराए। उपप्रधान एवं गृहमन्त्री लामिछानेले कार्यक्षमता मूल्याङ्कनका आधारमा पदोन्नति र जिम्मेवारी निर्धारण गरिने बताउँदै सरुवा–बढुवा वा जिम्मेवारी निर्धारणमा कतैबाट दबाब वा प्रभाव पार्ने, अनुचित चलखेल गर्ने र व्यावसायिक प्रतिस्पर्धाभन्दा अन्य उपायको खोजी गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिए।

प्रतिक्रिया दिनुहोस्