धरानले बजेटमा फिल्मलाई समेट्ने मेयर साम्पाङको घोषणा

322
Shares

काठमाडौं ।

धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी वर्षको बजेटमा नेपाली फिल्म क्षेत्रलाई समेट्ने जानकारी गराएका छन्।

धरानमा सम्पन्न महाजात्रासँग स्थानीय सरकारः सिनेमा संवाद कार्यक्रममा मेयर साम्पाङले नेपाली फिल्मसँगै कला, संस्कृतिसँग आफू नजिक रहेको जनाउँदै नगरपालिकाको बजेटमा नेपाली फिल्म क्षेत्रलाई समेट्ने जानकारी गराएका हुन्।

‘नेपाली फिल्मलाई सम्बोधन गर्नेगरी म बजेट बनाउँछु । धरानले फिल्मलाई हेर्‍यो र सोच्यो भन्ने आभाष पक्कै हुनेछ। म फिल्म, कला र साहित्यसँग जोडिएको र गम्भीर रूपमा सोच्ने व्यक्ति हुँ,’ संवाद कार्यक्रममा मेयर साम्पाङले भने, ‘धरानमा फिल्म छायांकनका लागि सहज हुनेगरी चाँडै नै सुटिङ स्थलहरू समावेश गरेर सानो डायरी सार्वजनिक गर्छु।’

मेयर साम्पाङले अभिनेता हरिवंश आचार्यलाई हास्न र बाच्न सिकाउने कलाकारका रूपमा बुझेको जनाउँदै नेपाली फिल्म हलमै गएर हेर्न आह्वान पनि गरे।

‘कलाकारलाई मोबाइलमा माया गरेर हुँदैन, यसका लागि हलसम्म पुग्नुपर्छ। त्यसैले नेपाली फिल्म हलमै हेर्ने गरौँ, यो महाजात्रा पक्कै राम्रो बनेको छ। किनकि हरिवंशजस्तो कलाकार यत्तिकै फिल्ममा अभिनय गर्नु हुँदैन भन्नेमा म विश्वस्त छु,’ उनले भने ।

कार्यक्रममा अभिनेता हरिवंश आचार्यले फिल्म बलिदानको छायांकन गरेको स्मरण गर्दै धरान छायांकनको गन्तव्य भएको चर्चा गरे। ‘यो फिल्म छायांकनका लागि राम्रो स्थान हो। हामीले यहाँ बलिदानको सुटिङ गरेका थियौँ। मेयरसाबले भन्नुभएझैँ फिल्मकर्मीले यहाँ गतिविधि बढाउने छन्। हामीलाई नयाँ गन्तव्य र दर्शक चाहिएको छ,’ अभिनेता आचार्यले भने।

फिल्मका कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले स्थानीय सरकारसँग आफूहरूले ठूलो सहयोग नभई हातेमालोको अपेक्षा गरेको बताए। उनले फिल्म छायांकनका क्रममा आउ“दा लोकेसनलगायत कुरा अन्योल हुने जनाउँदै सहजीकरण गरिदिन मेयर साम्पाङसँग आग्रह गरे।

अभिनेता विपिन कार्कीले कहिलेकाहीँ छायांकनस्थलको लफडा हुने जनाउँदै यसमा सहजता आवश्यकता भएको बताए। अर्का अभिनेता रवीन्द्र झाले फिल्म छायांकनका लागि स्टुडियोको आवश्यकता रहेको जनाउँदै धरानमा पनि फिल्म स्टुडियो भएको खण्डमा काम गर्न सजिलो हुने बताए। नायिका वर्षा राउतले पनि लोकेसनलगायत विषयमा सहजता गरी स्थानीय सरकारले काम गर्न सक्ने बताइन् ।

याक्थुम चलचित्रकर्मी महासंघका अध्यक्ष नवीन मेन्याङ्बो, अनाम रंगमञ्चका अध्यक्ष विजय सुब्बा र नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राईले धरानमा नाटक र फिल्मको समस्या र गर्नुपर्ने कामको विषयमा चर्चा गरेका थिए। चैत्र ९ गतेबाट रिलिजमा आउने महाजात्राको टिम फिल्म प्रचारका लागि जिल्ला दौडाहमा छ।

आपत्कालीन रूपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिएको महाजात्रामा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानिया, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायत कलाकारले अभिनय गरेका छन्।

दीपेश खत्री र यज्ञश्वर पौडेलद्वारा निर्मित फिल्ममा जितबहादुर रुवाली एसोसियट निर्देशक, कुमार महर्जन द्वन्द्व निर्देशक, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार र पुरुषोत्तम प्रधान छायांकार रहेका छन्।