ओस्कार एकेडेमी अवार्डमा ओपनहेइमरलाई सर्वाधिक सात अवार्ड



काठमाडौं ।

विश्वप्रतिष्ठित ओस्कार एकेडेमी अवार्डको ९६औं संस्करणमा फिल्म ओपनहेइमरले सर्वाधिक सात अवार्ड चुमेको छ। ओपनहेइमरले सर्वोत्कृष्ट फिल्मसहित सर्वाधिक सात अवार्ड चुमेको हो।

आणविक बमका अविष्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेनआइमरको जीवनीमा आधारित फिल्मबाट क्रिस्टोफर नोलेनले निर्देशक, किलियन मर्फेले अभिनेता र रोबर्ट डाउनर जुनियरले सहअभिनेताको ओस्कार अवार्ड चुमेका छन् भने सोही फिल्मले सम्पादन, ओरिजिनल स्कोर र छायांकन विधाको अवार्ड चुमेको छ।

अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न अवार्ड समारोहमा फिल्म पुअर थिंगबाट एमा स्टोनले अभिनेत्रीको अवार्ड चुमिन् भने सोही फिल्मले प्रोडक्सन डिजाइनको अवार्डलाई पनि आफ्नो बनाएको छ।

द होल्ड ओभर्सबाट द भाइन जोए र्‍यान्डोल्फले सहअभिनेत्री, द ब्वाई एन्ड द हेरोनले एनिमेटेड फिचर फिल्म, ट्वान्टी डेज इन मेरीपोलले डकुमेन्ट्री फिचर फिल्म, अमेरिकन फिल्म द जोन अफ इन्ट्रेस्टले फिचर फिल्म, वार इज ओभरले एनिमेटेड सर्ट फिल्म, द वन्डरफुल स्टोरी अफ हेनरी सुगरले लाइभ एक्सन सर्ट फिल्म, द लास्ट रिपेयर सपले डकुमेन्ट्री सर्ट फिल्म, गुडजिला : माइनस वानले भिजुअल इफेक्टको अवार्डलाई आफ्नो बनाएको छ।

प्रायः केही न केही गतिविधि र प्रसंगले चर्चामा आउने ओस्कार अवार्ड समारोह यस पटक रेस्लर खेलाडी तथा हलिउड अभिनेता जोन सिनाको एक हर्कतका कारण चर्चामा रह्यो। उनी अवार्ड वितरणको क्रममा निर्वस्त्र लाग्ने गरी मञ्चमा प्रवेश गर्दा केहीबेर सहभागीबीच सन्नाटा र हाँसोको फोहरा गुञ्जिएको थियो।

सर्वोत्कृष्ट पोसाक डिजाइनको मनोनयन र विजेता घोषणा गर्न स्टेज चढेका उनी निर्वस्त्र देखिएका थिए। तर, उनले गोप्य अंग खामले ढाकेका थिए। विजेताको नाम भएको खामले गोप्य अंग छोपेका उनलाई विजेताको नाम हेर्न अप्ठेरो भएपछि उनले कार्यक्रमका होस्ट जिमी किमेलको साहरा लिएका थिए।

पहिरन विजेताको नाम घोषणा गर्दै गर्दा उनले पहिरनको निकै महत्व रहेको बताउँदै आफूले सो खाम हटाएर विजेताको नाम घोषणा गर्न नसक्ने बताएका थिए। तर, केहीबेरमै केही मानिसले लामो कपडा ल्याएर उनको शरीर ढाकिदिएपछि उनले सो खाम आफ्नो गोप्य अंगबाट हटाएर विजेता घोषणा गरेका थिए।

जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। सदाझैं यसपटक पनि हलिउडदेखि विश्वभरका विभिन्न फिल्म स्टारले ओस्कारको रेड कार्पेटमा फेसनको जादु छरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्