कर्मचारीतन्त्रमा आमूल रुपान्तरण जरुरी



काठमाडौं ।

राजस्व छली गर्ने काममा कर्मचारीहरुकै मिलेमतो हुने विषय आइरहेका छन्। कर्मचारीको मिलेमतोमा राज्यकोषमा नै हिनामिना र क्षति पुग्ने कार्य हुनु खेदजनक छ। त्यसरी राजस्व छलीमा संलग्न कर्मचारीलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्छ।

अहिले जताततै भ्रष्टाचार र अनियमितताले जनता आक्रान्त छन्। जनताको लामो त्याग र संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सफलतम कार्यान्वयनमा सबै पक्षको भूमिका प्रभावकारी हुन्छ।

यसलाई सफल बनाउने प्रमुख दायित्व भने राजनीतिक र प्रशासनिक निकायकै हो। स्थायी सरकारको रुपमा रहेको कर्मचारी संयन्त्रको भूमिका अझै बढी महत्वपूर्ण छ। किनकि सरकारका नीति, योजना र कार्यक्रमलाई जनतासमक्ष लैजाने काम नै कर्मचारीतन्त्रको हो। त्यसैले संघीय शासनलाई सफल बनाउन हाम्रो कर्मचारीतन्त्रमा आमूल रुपान्तरण जरुरी छ।

यस्तो महत्वपूर्ण भूमिकामा रहेका कर्मचारीहरु नै राजस्व छलीलगायतका अनियमिततामा लाग्नु दुःखद छ। त्यसैले संघीय शासन प्रणाली सफलताको प्रमु्ख आधारको रुपमा रहेको कर्मचारीतन्त्रमा सबैभन्दा पहिला आचरणमा सुधार हुन जरुरी छ।

हाम्रा कर्मचारीहरु ज्ञान, सीप र क्षमताका हिसाबले निकै माथि छन् तर ती सबैलाई सत्मार्गमा लैजानका लागि राम्रो आचरण हुन सकेन भने ज्ञान र सीपले मात्रै केही गर्न सक्दैन । त्यसैले आम कर्मचारीमा आचरणको क्यापासिटी हुन जरुरी छ।

उनीहरु आचरण सुधार्ने क्षमता नै राख्न नसक्ने भएकाले हिजोका दिनमा कर्मचारीप्रति आम जनताको आस्था घट्न पुगेको हो। अधिकांश कर्मचारीहरुमा कामप्रति लगावसमेत देखिँदैन।

संघीयता सफल बनाउने हो र यो शासन प्रणालीले आत्मसात् गरेका मूल्य र मान्यतालाई जनतासमक्ष सफल किसिमले लैजाने हो भने अब कर्मचारीतन्त्रमा नै व्यापक सुधार जरुरी छ। आचरणका हिसाबले पनि उनीहरुलाई नैतिक र इमानदार बनाउनै पर्छ। यसका साथै विद्यमान कर्मचारीतन्त्रमा नभएका तीनवटा चरित्रको विकास गराउन जरुरी छ ।

आम कर्मचारीलाई राष्ट्रप्रतिको समर्पणको भावनाले ओतप्रोत गराउन सक्नुपर्छ । त्यसै गरी आम कर्मचारीहरुमा राष्ट्रियताप्रतिको सम्मान भावना सिर्जना गराउन सक्नुपर्छ भने अर्को महत्वपूर्ण विषय भनेको आम कर्मचारीमा जनताप्रतिको सेवाभावको अत्यधिक विकास गराउन सक्नुपर्छ। अब यी विषयहरु सबै कर्मचारीका लागि पूर्वसर्त नै बनाइनुपर्छ।

यसो त माथिका ती महत्वपूर्ण चरित्रहरु राजनीतिक नेता, नागरिक समाजलगायत समाजका सबै वर्ग र क्षेत्रमा उत्तिकै जरुरी रहन्छ । तर स्थायी सरकार हाँक्ने जिम्मेवारीमा रहेको निजामती प्रशासनमा ती चरित्रहरु समाहित हुन पुगे भने मुलुकमा विकास र प्रगतिको ढोका चाँडै खुल्न सक्ने निश्चित छ।

कर्मचारीलाई देशप्रति जिम्मेवार बनाएर उनीहरुमा सच्चरित्रताको विकास गराउनका लागि ऐन नियममा नै सेवा प्रवाहको पाटो, जिम्मेवारी र जवाफदेहिताको पाटोलाई स्पष्ट व्यवस्था गरिनुपर्छ।

यसै गरी कर्मचारीले काम बिगार्दा हुने कारबाहीको व्यवस्था, नागरिक क्षतिपूर्तिको पाटो पनि ऐन नियममा नै समाविष्ट गर्नुपर्छ। अनि मात्रै कर्मचारीलाई कामप्रति समर्पित बनाउन सकिन्छ। त्यसैले इमानदार र जनसेवाप्रति समर्पित कर्मचारीतन्त्र नै अहिलेको अहम् आवश्यकता हो।

प्रतिक्रिया दिनुहोस्