सात महिला फिल्मकर्मी तथा पत्रकार सम्मानित



काठमाडौं ।

नेपाली फिल्ममा योगदान पुर्‍याउँदै आएका सात महिला फिल्मकर्मी तथा पत्रकारलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजधानीमा सम्पन्न एक कार्यक्रमबीच सम्मान गरिएको छ।

चलचित्र विकास बोर्डद्वार बोर्डकै कार्यलयमा आयोजित एक समारोहबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अभिनेत्रीहरू केकी अधिकारी, प्रियंका कार्की र सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल र पत्रकार सारदा थापालाई जनही नगद २५ हजार रुपियाँसहित सम्मान गरेकी हुन्।

कार्यक्रममा मन्त्री शर्माले फिल्म कर्ममा निरन्तर क्रियाशील महिलालाई सम्मान गर्न पाउ“दा खुसी व्यक्त गरिन्। मन्त्री शर्माले कुनै समय अभिनय गर्न घरबाट निस्किन गाह्रो हुने महिला अहिले निर्देशक, कलाकार, निर्मातासँगै प्राविधिक पक्षमा समेत सक्रिय रहेको बताइन्।

साथै, छलफलमा रहेको फिल्म ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समितिजस्ता निकायमा बलियो उपस्थिति गराउने उनको भनाइ थियो। मन्त्री शर्माले भनिन्, ‘त्यसले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य तयार गर्नेछ।’

सोही अवसरमा फिल्ममा नारी विषयमा दुई सम्वाद गरी अनुभव आदानप्रदान गरिएको छ। त्यस अवसरमा महिला सशक्तीकरणमा महिला चलचित्रकर्मीको भूमिका हिजोआज र भोलि विषयमा सम्वाद गरिएको हो।

संवादमा पुराना फिल्मकर्मी गौरी मल्ल, झरना थापा, केकी अधिकारी, निर्देशक रक्षासिंह राणा सहभागी भएका थिए भने सम्वादको सहजीकरण पत्रकार शारदा थापाले गरेकी थिइन्।

यसैगरी, नेपाली फिल्मको सुरुआती अवस्था, फिल्म क्षेत्रमा महिलाको समस्या र चुनौती विषयमा सम्वाद गरिएको छ। सम्वादमा नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दथापा, करिस्मा मानन्धर र कलाकार सिल्पा मास्केसहितको समूहगत छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्