भारतीय दूतावासमा अन्तर्राष्ट्रिय नारी दिवसको उत्सव



काठमाडौं ।

काठमाडौंस्थित भारतीय राजदूतावासले माइती नेपालसँगको सहकार्यमा माइती नेपालको प्राङ्गणमा बिहीबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ।

‘महिलामा लगानी : प्रगतिलाई गति’ र ‘समावेशीकरणलाई प्रेरणा’ भन्ने नाराका साथ महिलाहरूको योगदानको सम्मान एवम् कदर गर्न उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा नेपालकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। कार्यक्रममा माइती नेपालकी संस्थापक अनुराधा कोइरालासँगै भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव पनि सहभागी थिए।

कार्यक्रममा नियोग उप–प्रमुख श्रीवास्तवले नारी दिवसको महत्वमाथि प्रकाश पार्दै माइती नेपालले नेपाली महिलाको हित र समृद्धिका लागि गरेको अथक प्रयासको प्रशंसा गरे। नियोग उप–प्रमुख श्रीवास्तवले सन् २०१७ मा भारत सरकारले कोइरालालाई प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको उल्लेख गर्दै उनले यस क्षेत्रमा पुर्‍याएको प्रयासलाई भारत सरकारले पनि कदर गरेको बताए।

त्यस्तै प्रमुख अतिथि शाक्यले भारत र नेपालबिच रहेको विशिष्ट सम्बन्धको महत्वमाथि प्रकाश पार्दै नेपालमा महिला सशक्तीकरणका लागि बृहत्तर सामूहिक प्रयासको आवश्यकता रहेको बताइन्।

माइती नेपालकी संस्थापक कोइरालाले माइती नेपालले गर्दै आएको पहल एवम् बृहत् कार्यक्रम बारे जानकारी गराएकी थिइन्। उनले राजदूतावासको निरन्तर साथ र सहयोगका लागि धन्यवाद समेत व्यक्त गरिन्। कार्यक्रममा मेनुका पौडेल र रत्नकुमारी सुनुवारलाई उनीहरूको प्रेरणादायी उपलब्धिका लागि सम्मान गरिएको थियो।

काठमाडौंकी पौडेलले आफ्नो गायन प्रतिभाको माध्यमबाट नेपाल र भारतमा र पछिल्लो समय इन्डियन आइडल (२०२३) मा प्रशंसा बटुल्न सफल भएकी थिइन्। त्यस्तै सुनुवारले ८० वर्षको उमेरमा गत वर्ष कक्षा १२ उत्तीर्ण गरेपछि अध्ययनमा उमेरले कुनै बाधा नपार्ने रहेछ भन्ने देखाउँदै चर्चा कमाएकी थिइन्।

सो अवसरमा भारतीय राजदूतावासले माइती नेपालका विद्यार्थीहरूलाई उपहार स्वरूप पुस्तक प्रदान गरेको थियो। भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा काठमाडौंका महिला वाद्यवादकहरूले सांगीतिक प्रस्तुति र माइती नेपालका छात्राहरूले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

मेनुका पौडेलले पनि सुमधुर गीतहरू गाएर दर्शकलाई मोहित बनाएकी थिइन्। भारत र नेपालबीचको बलियो सम्बन्धलाई प्रवर्द्धन गर्न र बालिका एवं महिला सशक्तीकरणका लागि नेपाल सरकारको प्रयासलाई सघाउ पुर्‍याउन प्रतिबद्ध रहेको भारतीय राजदूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्