प्रेमगञ्जको अपूरो प्रेम उपहारबाट पूरा गर्दै तेज



काठमाडौं ।

फिल्म प्रेमगञ्जका प्रेमजोडी अभिनेता तेज गिरी र अभिनेत्री बेनिशा हमाल भोलि शुक्रबारबाट रिलिज हुने फिल्म उपहारमा पुनः एकसाथ देखिँदैछन्। यो जोडी उपहारमा विवाहित जोडीका रूपमा देखिनेछन्।

अभिनेता तेजका अनुसार प्रेमगञ्जमा उनीहरूको अधुरो प्रेम थियो भने उपहारमा पूर्ण प्रेम हुनेछ। तेजका अनुसार उपहारका निर्देशक ज्ञानेन्द्र देउजताले प्रेमगञ्जको प्रिमियरकै समयमा उनलाई ‘सँगै काम गर्नुपर्छ’ भनेका रहेछन्। ‘प्रेमगञ्जकै कारण म उपहारमा जोडिएँ। प्रेमगन्जमा बेनिशाजी र मेरो केमेस्ट्री सुहाएको देखेपछि ज्ञानेन्द्र दाइले मेरो जोडी बेनिशालाई राख्नुभएको रहेछ,’ तेजले सुनाए।

तेजका अनुसार उपहारमा उनी र बेनिशा विवाहित जोडी भए पनि त्यो जोडीभित्रको द्वन्द्व देखाइएको छ। ‘माया गर्ने जोडीले एकअर्काका अपेक्षा शतप्रतिशत खोज्दा र एकअर्कामा देखिएका कमजोरीका कारण सम्बन्धमा आएको दरार फिल्ममा छ। त्यो बिछोड र दरार पीडादायी नै छ,’ तेजले खुलाए।

तेजको अनुभवमा निर्देशक ज्ञानेन्द्रले अडियन्स प्वाइट अफ भ्यूबाट फिल्म बनाएका छन्। ‘दर्शकले चाहेअनुसारको फिल्म बनाउनुभएको छ । दर्शकले अवश्य फिल्म स्वीकार्नुहुन्छ,’ तेजको दाबी छ।

तेजले अनुभव र पुरानो ठूलो ब्यानरमा काम गर्दा मानसिक रूपमा आफूलाई कताकता असहज भएको अनुभव सुनाए। ‘मभित्र रहेको चिज देखाउन सक्दिनँ कि निकाल्न सक्दिनँ कि भन्ने फिल हुँदो रहेछ। पुरानो टिमसँग काम गर्दा मैले दिएको चिजले उहाँहरूलाई सन्तुष्ट बनाउन सक्दिनँ कि अथवा मबाट चिज पनि निस्कँदैन कि भन्ने हुँदो रहेछ। तर, उहाँहरूले काम गर्ने वातावरण बनाइदिएपछि सहज भयो,’ तेजले भने।

तेज उपहारको आफ्नो चरित्रलाई तेज चुनौतीपूर्ण मान्छन्। ‘एउटा दृश्य अलिक भारी किसिमको छ, जहाँ बेनिशाजी र मेरो मायासहितको झगडा छ। त्यो नचाहँदा नचाहँदै सिर्जना भएको झगडा थियो,’ उनले खुलाए।

तेजले उपहारको कथा समाजमा भएको मौलिक घटना भएको बताए। ‘फिल्म हेर्दा जोकोहीले त्यो चरित्रभित्र आफूलाई अनुभव गर्न सक्छन्। यसमा महिला सशक्तीकरण, वर्ग संघर्षका कुरा छन्, जुन हाम्रो समाजमा जल्दोबल्दो रूपमा उठेका कुरा हुन्,’ तेज भन्छन्।

प्रतिक्रिया दिनुहोस्