अम्बानीको समारोहमा नृत्य गर्नेप्रति कंगनाको कटाक्ष



एजेन्सी ।

बलिउड अभिनेत्री कंगना रनावतले भारतीय धनाढ्य मुकेश अम्बानीको छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा नृत्य गर्ने कलाकारप्रति कटाक्ष गरेकी छन्।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै आफूले निकै आर्थिक संकट भोेगे पनि पैसा कमाउन कसैको विवाह समारोहमा ननाचेको बताएकी छन्। उनले गायिका स्व. लता मंगेसकरको एक अन्तर्वार्तासमेत सेयर गरेकी छन्।

जसमा लताले आर्थिक अभावका बीचमा पनि कुनै विवाह समारोहमा पैसाका लागि गीत नगाएको बताएकी छन्। ‘यदि तपाईले मलाई पाँच मिलियन दिनुभयो भने पनि म विवाहमा गीत गाउन आउँदिनँ,’ लताले अन्तर्वार्तामा भनेकी छिन्।

कंगनाले आफूलाई लतासँगै तुलना गर्दै लेखेकी छन्, ‘म धेरैपटक आर्थिक समस्याबाट गुज्रिएको छु। शायद लताजी र म दुई व्यक्ति हौं, जसका गीत निकै हिट छन्। लताजीले करौडौं दिँदा पनि विवाहमा गीत गाउनुभएन र म पनि जति नै लालच देखाए पनि कसैको विवाहमा नाचिनँ,’ कंगना अगाडि लेख्छिन्, ‘केही सुपरहिट आइटम गीत पनि मलाई अफर गरिएका थिए। केही समय अघिदेखि मैले आवर्ड शोसँग पनि दूरी बनाएँ। पपुलारिटी र पैसालाई नाई भन्नका लागि मजबुत चरित्र र गरिमा हुन जरुरी छ।’

कंगनाले युवाहरूलाई इमानदारिताको धन आर्जित गर्न सल्लाह दिएकी छन्। अनन्त र राधिकाको विवाह पूर्व समारोहमा अभिनेता अमिताभ बच्चनदेखि शाहरुख खानसम्मका कलाकारको उपस्थिति रहेकोमा कंगना भने देखिएकी थिइनन्।

तीन दिनसम्म चलेको समारोहमा रिहानादेखि बलिउडका विभिन्न कलाकारले नृत्यलगायत मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्