फिल्मकर्मी सम्मानित



काठमाडौं ।

इन्टरनेसनल नेटवर्क अफ नेपाली फिल्म मेकर्स (आइएनएनएफ) ले पाँच दशकसम्म नेपाली फिल्म कलाको क्षेत्रमा योगदान पुर्‍याएका कलाकर्मीलाई चलचित्र स्वर्णिम सम्मान–२०८० बाट सम्मान गरेको छ।

आइएनएनएफले हालै राजधानीमा आयोजित प्रथम साधारणसभाको अवसरमा नीर शाह, उद्धव पौडेल, भुवन चन्द, मुकुन्दकिशोर भट्टराई र नरेन्द्र खड्कालाई योगदानको कदरस्वरुप राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मान गरेका हुन् ।

तिमिल्सिनाले अभिनेता, निर्देशक रमेश बुढाथोकी, अभिनेत्री गौरी मल्ल र करिश्मा मान्नधर, अभिनेता रवीन्द्र खड्का, निर्माता तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईलाई चलचित्र विशेष व्यक्तित्वका रूपमा सम्मान गरे।अध्यक्ष तिमिल्सिना कार्यक्रमका प्रमुख अतिथि थिए ।

कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ। लव प्याकुरेल अध्यक्ष रहेको केन्द्रीय कार्यसमितिमा प्रदीपलाल श्रेष्ठ, मानबहादुर थापा र लक्ष्मण सुवेदी उपाध्यक्ष, रमेश कोइराला महासचिव, भीष्मराज फुलारा सचिव, ठण्डबहादुर अधिकारी कोषाध्यक्ष, राधेश्याम विश्वकर्मा, गणेश सुवेदी, विनोद चौलागाईं र मधुर अधिकारी कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।

सीमानाभन्दा पर: नेपाली फिल्म विषयक अन्तरक्रियासमेत सञ्चालन गरिएको कार्यक्रमका प्रमुख वक्ता नीर शाहले नेपाली फिल्मको नीतिगत र गुणस्तरीय विकासमा फिल्मकर्मीकै बढी कमजोरी भएकाले सच्याउँदै जानुपर्ने चर्चा गरे।

त्यसै गरी प्रमुख अथिति तिमिल्सिनाले नेपाली फिल्म गैरनेपाली दर्शकसम्म पुर्‍याउन पहल गर्नुपर्ने चर्चा गरे। सो क्रममा तिमिल्सिनाले सम्बन्धित निकाय र संघसंस्थाले यसबारे गम्भीरताका साथ सोच्नुपर्ने बताए।

अध्यक्ष प्याकुरेलले संस्थाले नेपाली फिल्म र कलाकर्मीको बृहत्तर विकास र विस्तारका लागि विशेष कार्ययोजना ल्याउने र फिल्मसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गरेर अघि बढ्ने जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्