दुर्घटनामा भोजपुरी फिल्मका चार कलाकारको मृत्यु



काठमाडौं ।

भारतको विहारमा भएको सडक दुर्घटनामा भोजपुरी फिल्म उद्योगका चार स्टार कलाकारसहित नौजनाको मृत्यु भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुने कलाकारमा चर्चित भारतीय वेब सिरिज पञ्चायत २ फेम्ड अभिनेत्री आँचल तिवारी, अर्की भोजपुरी अभिनेत्री सिमरन श्रीवास्तव, गायक छोटू पाण्डे र विमलेश पाण्डे रहेका छन्।

विहारस्थित कैमुरको देवकाली गाउँनजिकैको जिटी रोडमा आइतबार साँझ भएको दुर्घटनामा उनीहरूको निधन भएको थियो। तर, सोमबार बिहान मृतकहरूको सनाखत भएपछि मात्र प्रहरीले विज्ञप्ति जारी गररे उनीहरूको मृत्युको पुष्टि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

तिवारीले पञ्चायत २ मा मुख्य अभिनेत्री सान्विकाको चरित्र रिंकीकी साथी रविनाको भूमिका निर्वाह गरेकी थिइन्। मृतकको सनाखत सोमबार भएको मोहनियाका डीएसपी दिलीप कुमारले जानकारी दिएका छन्।

मृत्यु हुने अन्य पाँचजना पनि उक्त गाडीमै सवार थिए। प्रत्यक्षदर्शीका अनुसार एसयुभी कार र मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल र एसयुभी अर्को लेनमा पसेका थिए।

त्यसपछि अगाडिबाट आएको तीव्र गतिको ट्रकले उनीहरूलाई ठक्कर दिएको थियो। दुर्घटनापछि ट्रकचालक घटनास्थलबाट फरार भएका छन्।

प्रतिक्रिया दिनुहोस्