डिग्री माइलाको रोमान्टिक सुस्त सुस्त



काठमाडौं ।

लोकप्रिय निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म डिग्री माइला : एमए थर्ड क्लासको सुस्त सुस्त बोलको रोमाञ्चक गीत सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ। एसडी योगीको संगीत, दिल्लु चम्लागाईंको शब्द रचना तथा एसडी योगी र विज्ञानी पराजुलीको स्वर गीतको अडियो तथा भिडियो उत्कृष्ट लाग्छ। गीतमा युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा वान्तवा राईको कोरियोग्राफी निर्देशन रहेको छ।

बाँसुरी फिल्म्स्, कबड्डी फिल्म्स् र सुष्मा फिल्म्स्को ब्यानरमा निर्मित फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा बोल्छ। यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत मञ्चन भइसकेको छ। फिल्म सोही नाटकमा आधारित छ।

दयाहाङ र आँचलका साथमा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेको फिल्मले किन चाउरिस मरिच आफ्नै रागले भन्ने चर्चित नेपाली उखानलाई ट्यागलाइन बनाइएको छ।

आगामी नयाँ वर्षमा रिलिज फिल्ममा शिवराम श्रेष्ठ र राइली एस शिनको छायांकन, नेमिश श्रेष्ठको सम्पादन र रोहित शाक्यको पाश्र्व संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्