समाजमा विजय पात्र हुनुहुँदैन : दयाहाङ राई



काठमाडौं ।

लोकप्रिय अभिनेता दयाहाङ राई आगामी फागुन २५ गते रिलिज हुने फिल्म रंगेलीलाई लिएर उत्साहित छन्। एक दशकअघि रिलिज भएको फिल्म छड्केपछि रंगेलीमा फेरि ग्याङस्टार क्यारेक्टरमा देखिएकाले यो फिल्मलाई लिएर उनको उत्साह छुट्टै छ।

दयाहाङका अनुसार छड्के र रंगेलीको ग्याङस्टार क्यारेक्टरको उठान भेगीय हिसाबले भने फरक छ। दयाहाङ रंगेलीमा विजयनामकको पात्रको भूमिकामा छन्।

‘मैले अहिलेसम्म गरिरहेका क्यारेक्टर प्रायः ग्रे क्यारेक्टर छन्। ती क्यारेक्टरमा नेगेटिभ र पोजेटिभ दुवै मिसिएको छ। यसो हेर्दा रंगेलीको क्यारेक्टरलाई पनि ग्रे क्यारेक्टर मान्न सकिन्छ, तर आममानिसको सोचाइबाट हेर्दा यसमा डार्क क्यारेक्टर नै भेटिन्छ,’ दयाहाङ सुनाउँछन् ‘विजयजस्तो मान्छे निस्कियो भने हामीलाई नै घात हुन्छ कि भन्ने अनुभूति गराउँछ कि जस्तो मलाई लाग्छ। अरू फिल्ममा मेरो क्यारेक्टरले समाजका एकदमै सामान्य मान्छेको जीवन उठान गरेको छ। रंगेलीमा पनि सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने देखिन्छ।’

दयाहाङका अनुसार रंगेलीमा दर्शकले उनको क्यारेक्टरको यात्रालाई फिल्मको कथा सकिन्जेलसम्म हेर्न पाउनेछन्। ‘मेरो क्यारेक्टर हेरिरहँदा दर्शकले हाम्रो समाजमा देखिरहेका पात्र अथवा यही जीवन बाँचिरहेको, जसले आफूलाई सहज गर्न सकेका छैनन् तिनलाई चित्रण गर्नेछन्। मेरो क्यारेक्टरलाई सामान्य भएर बाच्न सहज छैन। त्यो किन भन्ने कुरा फिल्म हेरेर थाहा पाउनुहुनेछ,’ दयाहाङले आफ्नो चरित्रबारे प्रष्ट्याए।

दयाहाङको बुझाइमा विजयभित्र कहीँ न कहीँ बिसाउने ठाउँ पायो भने उसलाई सारा चिज बिसाउने इच्छा हुन्छ। ‘मेरा लागि त्यो चाखलाग्दो यात्रा थियो। किनभने विजयका लागि एउटा चुनौतीमा गएर उसको जीवनको यात्रा सकिएको छ,’ दयाहाङको भनााइ छ।

दयाहाङका लागि रंगेलीको विजय क्यारेक्टर आफैँमा चाखलाग्दो क्यारेक्टर पनि हो। ‘विजयले पाउने साथीहरूको साथ, आफूभन्दा अग्रजले दिएको माया, प्रेमिकाले दिएको साथ चाखलाग्दा विषय हुन् । तर, त्यति हुँदाहुँदै पनि वरपरकाले उसका कमजोरीलाई हतियार बनाइरहेका हुन्छन्। जसले हतियार बनाउन खोज्छ, उसका लागि त्यो कसरी फर्केर आउँछ भन्ने कुराचाहिँ सबैभन्दा चाखलाग्दो लाग्यो। कसैलाई पनि हीन भावले हेर्नुहुँदैन भन्ने सन्देश पनि चाखलाग्दो छ। त्यो क्यारेक्टर निर्वाह गरिरहँदा पनि आफूलाई महसुस गरिरहेको थिएँ,’ दयाहाङले आफ्नो अनुभव सेयर गर्दै भने।

दयाहाङको अनुभवमा कोही पनि मानिस समाजमा खलपात्र हुँदैनन्। उनीहरू समाजभित्र फरक भएकाले पनि ती पात्रलाई समाजले अस्वीकार गर्ने गरेको दयहाङको बुझाइ छ।

‘हरेक मान्छेमा फरक पाटा हुन्छन्। म यसरी र यो बाटो जान्छु भनेर जसले पनि यात्रा गरिरहेको हुन्छ। समाज अघि दौडिरहँदा कहीँकतै त्यस्ता मान्छे छुट्नु हुन्न भन्ने ख्याल राख्नुपर्छ। उसको आवश्यकता सुन्नुपर्छ। उसका पनि समस्या समाधान गर्नेतिर समाज लाग्नुपर्छ,’ दयाहाङ भन्छन्।

अर्जुन सुवेदीद्वारा लिखित तथा निर्देशित रंगेलीमा दयाहाङको साथमा मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठद्वारा निर्मित फिल्ममा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना, सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत तथा सुशन प्रजापतिको छायांकन रहेको छ।

जीतेन्द्र खतिवडा र अनुजजँग थापा कार्यकारी निर्माता रहेको फिल्ममा युवक कार्की र शिवशंकर चौलागाईं सह–निर्माता तथा विवेक खड्का (योलो) एसोसियट निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्