मानसिक तनावमा रहेको समयलाई अनुभूत गरेर अभिनय गरेँ : सौगात मल्ल



काठमाडौं ।

अभिनेता सौगात मल्लले मानसिक समस्याको नजिक पुगेर फर्किएको खुलाएका छन्। सौगातले आगामी शुक्रबार रिलिजमा आउने फिल्म अगस्त्य च्याप्टर १ बारे प्रकाश पार्न हालै राजधानीमा आयोजना गरिएको पत्रकार भेटघाटमा यो खुलासा गरेका हुन्।

अभिनेता मल्लले अगस्त्य च्याप्टर १ मा आफू मानसिक रूपमा समस्या र तनावमा रहेको समयलाई अनुभूत गरेर क्यारेक्टर निर्माण र अभिनय गरेको बताए।

‘म आफैँ पनि झण्डै–झण्डै त्यस्तै अवस्थानजिक पुगेर फर्किएको धेरैलाई थाहै छ। त्यसलाई पनि मैले फिल गरेको थिएँ,’ पत्रकार भेटघाटमा सौगताले सुनाए, ‘त्यस्तो चरित्र निर्वाह गर्न शारीरिकभन्दा पनि मानसिक रूपमा गरिने काम अफ्ठ्यारो हुन्छ।’

फिल्ममा दुई भिन्न चरित्रमा देखिने सौगातले २५–२६ दिन मानसिक रूपमा समस्यामा रहेको एउटै क्यारेक्टरमा बस्दा निकै असहज भएको बताए।

त्यसैगरी अधिकांश फिल्ममा रोम–कमको भूमिकामा देखिएका अभिनेता नाजिर हुसेनले लामो समयपछि आफूले फरक र राम्रो चरित्रमा काम गर्न पाएको दाबी गर्दै फिल्ममा फरक–फरक इमोसनमा काम गरेकाले हरेक कलाकारको एउटा रहरलाई अगस्त्यः च्याप्टर १ मा पूरा गरेको बताए।

अभिनेत्री मलिका महतले आफूभन्दा अग्रज कलाकारसँग काम गर्दा दबाब महसुस भए पनि उनीहरूबाट बढी सिकाइ हुने गरेको खुलाइन्। अभिनेत्री महतले अग्रज कलाकारबाट शक्ति मिलेको जिकिर गरिन्।

फिल्मका निर्देशक सौरभ चौधरीले आफूले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको बताए। ती घटना लकडाउन अघि र लकडाउनको समयमा देखिएको उनले बताए।

‘ती दुई घटनालाई मर्ज गरेर स्क्रिप्ट बनाइयो। त्यसैले यो फिल्म दर्शकका लागि सिनेमाटिक छ, उहाँहरूले अहिलेसम्म समाजमा नभनिएका कथा यो फिल्ममा पाउनुहुनेछ,’ सौरभले जोसिँदै सुनाए, ‘यो फिल्म हेरिसकेपछि जोकोहीले पनि फिल्मलाई आफ्नो जीवनसँग जोड्न सक्छन्।’

सौरभले फरक किसिमको कथामा काम गर्न चाहेको जनाउँदै आफ्नो चाहना अगस्त्य च्याप्टर १ ले पूरा गरेको दाबी गरे। चौधरीले फिल्मको ट्रेलर र टिजर हेर्दा मधेसको कथाजस्तो देखिए पनि समग्र देशको कथा रहेको बताए।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलद्वारा निर्मित फिल्ममा भाष्कर स्वाँरको पाश्र्व संगीत, कविराज गहतराजको कोरियोग्राफी, सञ्जय लामाको छायांकन, मनोज श्रेष्ठको भीएफएक्स तथा सौरभ शर्मा र सुप्रिम पराजुलीको कलर करेक्सन रहेको छ।

आगामी शुक्रबार नेपालसँगै नेपालीको बसोबास रहेको विश्वका विभिन्न देशमा रिलिज हुने फिल्म अमेरिका र बेलायतमा आठ सयदेखि एक हजार शो, क्यानडामा एक सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा एक सय ५० शो, अस्ट्रेलिया र न्युजिल्यान्डमा पाँच सय शो र मध्यपूर्वका देशमा सात सय ५० शोमा रिलिज हुने जनाइएको छ।

फिल्ममा विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्