महाजात्रा महाकमेडी यात्रामा

196
Shares

काठमाडौं ।

जात्रा, जात्रैजात्राजस्ता सुपरडुपर हिट फिल्मको युनिटद्वारा निर्मित फिल्म महाजात्राको निर्माण समूहले फिल्मको प्रवर्द्धनका लागि राष्ट्रियस्तरमा महाकमेडी यात्रा गर्ने भएको छ।

दुई चरणमा हुने कमेडी यात्रामा यसका मुख्य कलाकारहरू सामेल हुनेछन्। यात्रा २१ गते पोखराबाट सुरु भई २२ गते बुटवल र २५ गते धनगढीमा हुनेछ भने दोस्रो चरण फागुन ३० गते बिर्तामोडबाट सुरु भई १ गते इटहरी, ३ गते हेटौंडा र ४ गते नारायणगढमा विभिन्न प्रस्तुति हुनेछ।

‘फिल्म रिलिजअघि विभिन्न जिल्लाका सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ। हामीसँग रियालिटी शोमार्फत उदाउनुभएका कमेडियनसँगै हाम्रो फिल्मका कलाकार हुनुहुनेछ,’ निर्माता म्याक्स दीपेश खत्रीले महाकमेडी यात्राबारे जानकारी गराउँदै भने।

उनका अनुसार फिल्मका मुख्य कलाकारहरू अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउतलगायत महाकमेडी यात्रामा सहभागी हुनेछन् भने अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतीमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिनेछन्।

जात्रा र जात्रैजात्राको अपार सफलतापछि तेस्रो शृङ्खलास्वरूप तयार पारिएको महाजात्रा लोकप्रिय निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको हो।

जात्रा शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएको यो सिरिजमा पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्या नै फिल्मको कथा बुनिएको छ।

फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतले अभिनय गरेका छन्।

फिल्मले नेपाली फिल्मले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाइसकेको छ। कथा लेखनकै क्रममा महाजात्रा भारतबाहेक विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन्। उनले फिल्म आगामी चैत ९ गते नेपालसँगै नेपालीको बसोबास रहेका विश्वका विभिन्न देशमा एकसाथ प्रदर्शन हुने बताए।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलद्वारा निर्मित फिल्ममा आशिष अविरलको संगीत, कविराज गहतराजको नृत्य निर्देशक, कुमार महर्जनको द्वन्द्व निर्देशन र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ।