गोर्खा वारियरले प्रिमियरमा पायो तारिफ



काठमाडौं ।

आज शुक्रबारबाट रिलिजमाम आउने वार ड्रामा जनराको फिल्म गोर्खा वारियरको बुधबार राजधानीमा ग्रयान्ड प्रिमियर शो गरिएको छ। प्रिमियर शोमा अभिनेतादेखि नेतासम्म सहभागी भए।

शोमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई तथा विभिन्न क्षेत्रका व्यक्तित्वका साथ फिल्मकर्मी सहभागी थिए।

फिल्म हेरिसकेपछि अध्यक्ष ओलीले फिल्ममा नेपाली विषय समेटिएकोमा प्रसन्नता व्यक्त गरे। ‘यसले नेपाली कथा र विषयलाई समेटेको छ। हाम्रो कथालाई पर्दामा हेर्न पाउँदा खुसी लाग्यो। यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न हामी सबैले सहयोग गर्नुपर्छ,’ अध्यक्ष ओलीको भनाइ थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीले फिल्म हेर्दा आफ्नो आँखाबाट आँसु झरेको बताए। ‘मेरो बुबा र बाजेले पनि विभिन्न युद्ध लड्नुभएको थियो। त्यसैले पनि यो फिल्म हेर्दा मैले कथासँग जोडिएको पाएँ। यो फिल्म हरेक नेपालीले हेर्नुपर्छ,’ किराँतीले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङदेनले फिल्मले नेपालीको वीरताको गाथालाई विश्वभर फैलाउने आशा व्यक्त गरे। ‘हाम्रो देश नेपाललाई सगरमाथाझैँ गोर्खालीको देश भनेर पनि चिन्ने गरिन्छ, तर यस्तो विषयमा कमै फिल्म निर्माण हुनु दुःखद हो। हामीले यस्तो फिल्म हेरेर पनि हौसला प्रदान गर्नुपर्छ,’ लिङदेनको भनाइ थियो।

ख्यातिप्राप्त हास्यंव्यग्य अभिनेता हरिवंश आचार्यले पनि फिल्मको खुलेर प्रसँसा गरे। ‘आजभन्दा ८० वर्षअघिको समाजको कथा र गोर्खाली सेनाको गाथा निकै मार्मिकसँग फिल्ममा उतारिएको छ। नेपालमा युद्धसम्बन्धी यति राम्रो फिल्म यसअघि कहिल्यै बनेको थिएन,’ आचार्यले भने।

अभिनेता सरोज खनाल, किरण केसी, राज कटुवाल, प्रशान्त ताम्राकार, गजित विष्ट, अभिनेत्री प्रियंका कार्की, पूजा शर्मा, पल्पसा डंगोल, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, सांसद ज्ञानेन्द्र शाहीलगायतले फिल्मले उठाएको विषय र प्रस्तुतीकरणको खुलेर तारिफ गरे।

वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको फिल्म पाएको सकरात्मक र उत्साहजनक प्रतिक्रियाले आफूमा थप उत्साहित गरेको फिल्मका लेखक तथा निर्देशक मिलन चाम्सले बताए।

‘मैले फिल्ममा काल्पनिकभन्दा पनि वास्तविकरूपमा सैनिकले लड्ने युद्ध देखाएको छु। सन् १९४९ को समयलाई पर्दामा देखाउन सहज थिएन। यसका लागि मैले छायांकनमै मात्र तीन वर्षको समय खर्चेको छु। तयारी त एक दशक अगाडिदेखिकै हो। फिल्मका लागि हामीले उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु विभिन्न संग्राहलयबाट संग्रह गरेर प्रयोग गरेका छौं,’ निर्देशक चाम्सले भने।

फिल्ममा सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइको कथा रोमाञ्चक ढंगले प्रस्तुत गरिएको छ। फिल्मका डेब्यु कलाकार रितेश चाम्स पूर्वगोर्खा सैनिक हुन्।

उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षा पनि लिएका थिए। फिल्ममा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्ममा गीत शैलेन्द्र खनाल ‘शरद’ संगीत एलिस कार्कीको, गायन राजेशपायल राई, द्वन्द्व निर्देशन हिमाल केसी, छायांकन सुदीप बराल र सम्पादन मिलन श्रेष्ठको छ।

प्रतिक्रिया दिनुहोस्