फिल्म पत्रकारको भेला र कार्यशाला सम्पन्न



हेटौंडा ।

चलचित्र पत्रकार संघ नेपालद्वारा हेटौंडामा आयोजित प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न भएको छ। हेटौंडा उपमहानारपालिकाकी प्रमुख मीनाकुमारी लामाद्वारा आरम्भ गरिएको कार्यक्रम वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले समापन गरेका हुन्।

चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको समन्वय र व्यवस्थापनमा भएको कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले फिल्म क्षेत्रको विकासमा काम गर्ने रणनीति निर्माण गरिरहेको जानकारी गराए।

कला संस्कृतिको क्षेत्रमा काम गर्न र सरकारले गरेको लगानी खेर जान नदिने नीति निर्माणमा अग्रसरता देखाइएको जनाउँदै उनले विगतमा चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईले दोलखाको डाङ्डुङे डाँडालाई फिल्म सिटी बनाउन पहलसहित बजेट विनियोजन गर्नुका साथै मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर र धादिङको रुविभ्याली गाउँपालिकालाई फिल्म सिटी बनाउने प्रयास गरेको, तर भट्टराईको निधनपछि धेरै योजना स्थगित भएको खुलाए।

उनले फिल्म ऐन बनाउन प्रदेश सरकारले ड्राफ्ट निर्माण अन्तिम चरणमा रहेको जानकारी गराउँदै आगामी प्रदेशसभाको हिउँदे अधिवेशनले उक्त विधेयक पारित गरी ऐनका रूपमा जारी गर्ने बताए।

कार्यक्रममा वागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवति सापकोटाले फिल्म क्षेत्रको व्यवस्थापनका लागि कानुन निर्माण कार्य अघि बढाइएको जानकारी गराउँदै लघु फिल्म निर्माणका लागि बनाएको कार्यविधि कार्यान्वयनको चरणमा रहेको तथा फिल्म लेखनका लागि प्रदेश सरकारले पटकथा लेखन तालिम सञ्चालन गरी सहयोग गर्ने काम अघि बढाएको बताए।

कार्यक्रममा फिल्म पत्रकारिता तथा फिचरलेखन कार्यशालाका सहभागीलाई मुख्यमन्त्री जम्कट्टेलले प्रमाणपत्र प्रदान गरेका थिए।  चारदिने भेलामा फिल्म सेन्सर कि ग्रेडिङ भन्ने विषयमा अन्तरसंम्वाद गरिएको थियो।

सञ्जोग बस्यालले सहजीकरण गरेको अन्तरसंम्वादमा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहाल, फिल्म निर्देशक मनोज पण्डित, सेन्सर बोर्डका सदस्य निश्चल बस्नेत र चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले छलफल गरेका थिए।

अन्तरसंवादमा बोर्डका पूर्वअध्यक्ष दाहालले सेन्सर बोर्डका कारण विकास बोर्डले अपजस भोग्नुपर्ने जनाउँदै सेन्सर बोर्डलाई बोर्डकै अधिनमा ल्याउनुपर्ने वा सूचना तथा सञ्चार मन्त्रालयभन्दा बाहिर निकालेर सेन्सर बोर्डलाई प्रमाणीकरण बोर्ड नाम राखी ग्रेडिङको पनि काम गर्न आग्रह गरे।

अर्का फिल्म निर्देशक पण्डितले राज्यको दायित्व जनता र दर्शकसँग पनि हुनुपर्ने बताए। बोर्डका सदस्य रवि अधिकारीले विकास बोर्डले सेन्सरका लागि सिफारिस दिने गरेपनि सेन्सरपछि त्यसको गाली बोर्डले खाने गरेको स्मरण गरे। सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले २०२६ सालमा बनेको ऐनमा टेकेर फिल्म हिँडिरहेकाले त्यसमा रहेर नयाँ बुँदा थपिएको बताए।

दोस्रो दिनको तेस्रो सेसनअन्तर्गत सुब्रतराज आचार्यको सहजीकरणमा सिनेमा बजार विषयमा अन्तरसंवाद गरिएको थियो। अन्तरसंवादमा नेपाल फिल्म हलको संख्या घटेसँगै फिल्मको बजार र व्यापार पनि घट्दै गएको दाबी गर्दै चलचित्र विकास बोर्डमा भिजन लिएर आउने मान्छेको अभाव भएकाले फिल्मकर्मी मारमा परेको गुनासो गरे। उनले सरकारलाई कर तिर्न सधैं तयार रहे पनि सरकारबाट त्यसको सट्टा के पाउन सकिन्छ? भनेर प्रश्न गरे।

विकास बोर्डका सदस्य राजु केसीले नेपाली फिल्मले पाँच दशकको यात्रा गरिरहँदा बजार कति खोज्न सकियो भन्दै प्रश्न गरे। अभिनेत्री स्वस्तिमा खड्काले आफू निर्मात्रीका रूपमा आउ“दा बजारको विषयलाई नजिकबाट बुझेको खुलाइन्।

‘पहिला अभिनेत्रीकै रूपमा काम गर्दा म मेरो पारिश्रमिक लिएर त्यहीअनुसार अभिनय गर्थें। अब निर्मात्रीका रूपमा आउँदैछु। आर्थिक पाटोको कुरा गर्दा निर्मातालाई पैसा उठाउन गाह्रो हुने गरेको थाहा पाएँ’, स्वस्तिमाले सुनाइन् ‘फिल्म दिमागखराबको प्रदर्शनकै समयमा निर्माताको दुःख थाहा पाएँ।’

हाइलाइट्स नेपालका प्रबन्ध निर्देशक जनक तामाङले नेपाली बजारमा ओटीटी प्लेटफर्मको माहौल नभएको जिकिरे गरे। उनले नेट्फ्क्लिसले भर्खरै मात्र नेपाली बजारमा आफूलाई भित्र्याएको उल्लेख गर्दै त्यसको प्रयोगका विषयमा अधिकांश जानकार नरहेको दाबी गरे।

त्यसै गरी सञ्चारकर्मी दिनेश डिसीले सहजीकरण गरेको सिनेमा पर्यटन विषयको अन्तरसवांदमा नेपाल पर्यटन बोर्डका डा. सूर्य थपलियाले आजसम्म पनि फिल्म र पर्यटनलाई उद्योगको मान्यता नदिइरहँदा पनि फिल्म क्षेत्रले नेपालको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान दिइरहेको बताए।

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहालले आफू विकास बोर्डमा हुँदा सुरु गरेको स्टोरी बैंकको अवधारणा चलचित्र पर्यटनकै लागि ल्याएको जनाउँदै बोर्डमार्फत सञ्चार मन्त्रालयमा विश्वका ४३ देशमा फिल्म पर्यटन दूत नियुक्त गर्न माग गरी प्रस्ताव पेस गरेको स्मरण गरे।

त्यसमा मन्त्रालयबाट नीतिगत उल्झन रहेको उनले बताए। अभिनेत्री केकी अधिकारीले नेपालका सम्भावना भएका स्थानलाई पर्यटन हटस्पट बनाउन सकिने चर्चा गर्दै त्यसमा चलचित्रकर्मी, सरकारले चासो दिनुपर्ने बताइन्।

विकास बोर्डका अध्यक्ष भुवन केसीले पर्यटनसँग नेपाली फिल्म रहेकाले विदेशीले जबसम्म नेपाली फिल्म हेर्दैनन्, तबसम्म नेपालको पर्यटन प्रवर्द्धन नहुने ठोकुवा गरे।

त्यसै गरी पत्रकार तथा सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक अशोकप्यासी राईले सहजीकरण गरेको मिडिया प्रमोसन र कर्पोरेट लगानीविषयक अन्तरसवांदमा फिल्मकर्मी आकाश अधिकारीले आफू नेपाल उद्योग वाणिज्य महासंघको समितिमा रहँदा चलचित्र र उद्योगबीच सामिप्यता नरहेको महसुस गरेको सुनाउँदै उद्योगीलाई फिल्ममा लगानी, रेभेन्यु, करका कुरा थाहा नभएकोसमेत बताए।

निर्माता तथा अभिनेता रवीन्द्र सिंह बानियाँले फिल्मको प्रमोसनमा मिडियाका नयाँ आयाम खोज्ने प्रयासमा आफूहरू रहेको बताए। नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपालमा अझै पनि फिल्मको मिडिया प्रमोसन परम्परागत शैलीको रहेकाले त्यसलाई परिवर्तन गर्न सुझाव दिए। निर्माता, निर्देशक निश्चल बस्नेतले वर्तमान समयमा व्यवसाय र पत्रकारिता छुट्याउने पर्ने बताए।

कार्यक्रममा देशभरबाट करिब एक सय ५० भन्दा बढी पत्रकार तथा फिल्मकर्मी भेला भएका थिए। संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा आयोजित भेलामा सिनेमा संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विषयका ११ सेसन सञ्चालन भएको संघका केन्द्रीय अध्यक्ष समीर बलामीले जानकारी गराए।  भेलापछि संघले १३ बुँदे घोषणापत्र जारी गरेको छ।

भेलाले बिट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना बनाउन, अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोककल्याणकारी विज्ञापनमा समेट्न, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न, पत्रकार सम्बद्ध संघ संस्थालाई दिइंदै आएको सहुलियत अनुदान रकम उपलब्ध गराउन, कला, संस्कृति र पहिचानसहितको मौलिक फिल्म तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिनिधित्व गर्ने नेपाली फिल्म वा फिल्मकर्मी र महोत्सवमा जाने फिल्म तथा फिल्मकर्मीलाई प्रोत्साहन तथा प्रवद्र्धन प्रचारप्रसार गर्न, स्वायत्त फिल्म उद्योगका लागि समयानुकुल र नेपाली फिल्मको विकासका लागि प्रभावकारी रूपमा फिल्म ऐन यथाशक्य संशोधन गर्न, फिल्मको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रम तय गर्न, हेटौंडाको मकवानपुरगढी, सहिद स्मारक, कुष्माण्ड सरोवर त्रिवेणी धाम, वनस्खण्डी, भुटनदेवी मन्दिर, पाथिभरा, पुष्पलाल पार्क, चिप्लेटी गाउँ, हर्नामाडी मुर्तिपार्कलगायत स्थानको प्रवर्द्धनका लागि फिल्ममार्फत प्रस्तुत गर्न र त्यसका लागि स्थानीय सरकारले समन्वय र सहुलियतको व्यवस्था गर्न, भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माण गरी हेटौंडासहित समग्र मकवानपुरलाई फिल्म हबको रूपमा विकास गर्न माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्