हेटौंडामा अनलाइनमार्फत् गुनासो दर्ता



हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकाले गर्दै आएको कामकारबाहीको विषयमा अनलाइन तथा फोनमार्फत् गुनासो दर्ता गर्ने स्वचालित प्रणाली सञ्चालनमा ल्याएको छ ।

नगरबासीहरुलाई सेवाप्रवाह, स्थानीय विकासलगायत अन्य विषयहरुमा परेका समस्याबारे गुनासो गर्न कार्यालयसम्म धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उपमहानगरले अनलाइन र फोनमार्फत् गुनासो सुनुवाइको व्यवस्था मिलाएको हो ।

गुनासो दर्ताका लागि उपमहानगरपालिकाले सफ्टवेयर सञ्चालमा ल्याउँदै घरमै बसेर फोनमार्फत् वा इन्टरनेट सेवाका माध्यमबाट गुनासाहरु टिपाउनसक्ने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका अनुसार इन्टरनेट सेवामार्फत् कार्यालयबाहेक समयमा पनि लिखित र ०५७–५९७००१ फोनमार्फत् मौखिक गुनासाहरु रेकर्ड गराउन सकिने बताइएको छ ।

उपमहानगरका अनुसार हालका लागि नेपाल टेलिकमको टेलिफोन वा मोबाइल सेवामार्फत् गुनासोको भ्वाइस रेकर्ड गराउन सकिनेछ भने केही समयभित्र अन्य सेवाप्रदायकहरुको फोन तथा मोबाइलबाट समेत गुनासो रेकर्ड गराउने सक्ने तयारी भइरहेको उपमहानगरपालिका सूचना शाखाले जनाएको छ ।

उपमहानगरले सेवाग्राहीलाई आफ्ना गुनासा दर्ता गराइ सेवालाई समस्यारहित बनाउने काममा सहयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्