कांग्रेसभित्रको वैचारिक संकट



नेपाली कांग्रेस नेपालको राजनीतिक तथा लोकतान्त्रिक संघर्षको इतिहासमा एउटा विरासत बोकेको पुरानो पार्टी हो । २००७ सालको जनक्रान्तिदेखि २०४६ को बहुदलीय प्रजातन्त्र पुनःस्थापना हुँदै दोस्रो जनआन्दोलन र त्यसको उपलब्धिलाई संस्थागत गर्ने दिशामा पनि नेपाली कांग्रेसको महत्वपूर्ण योगदान र भूमिका रहेको छ ।

आन्दोलनको नेतृत्व गर्ने, त्यसलाई संविधान निर्माणमार्फत् सुनिश्चित गर्नेदेखि लिएर लामो समयसम्म सत्ताको बागडोर सम्हाल्ने, सत्ताराजनीतिको महत्वपूर्ण हिस्सा बने पनि पार्टीले औपचारिक रूपमा स्वीकार गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको विचारबाट निर्देशित भई देश र जनताले भोग्नुपरिरहेको सकस, सामाजिक न्याय र परिवर्तन एजेन्डा स्थापित र त्यसको कार्यान्वयनमा कहिले अग्रसरता देखाएको छैन ।

राष्ट्रिय राजनीतिमा यस पार्टीको भूमिका अरू पार्टीको भूमिका भन्दा तात्विक रूपमा फरक छैन । कसैले स्वीकार गरे पनि नगरे पनि आजको नेपाली राजनीतिक एउटा कटु यथार्थ यही हो ।पार्टीले संस्थापना कालमा स्वीकार गरेका विचार, सिद्धान्तहरू केवल एउटा देखाउने विषय बाहेक भन्दा कार्यान्वयनको विषय बन्न सकेको छैन । यसले गर्दा आजको राष्ट्रिय राजनीतिमा वैचारिक भूमिका, अडान र चरित्रका हिसाबले कांग्रेसको थप परिचय बन्न सकेको छैन । यसतर्फ सोमबारदेखि शुरू हुने विधान महाधिवेशनमा थप छलफल भएमा पार्टीको आन्तरिक जीवनका हिसाबले मात्र नभई निराशा, असन्तोष र हतासले व्याप्त समाजमा केही आशाको किरण भेटाउन सकिने छ ।

हुनत पार्टीको विधान अधिवेशन पार्टीको आन्तरिक जीवनसँग बढी सम्बन्धित रहेको छ । तर, आन्तरिक जीवनमा लिने नीति, अपनाउने विचारले मुलुकको राष्ट्रिय राजनीतिमा तरंगित गर्न सकिने छ । यसअघिको महाधिवेशनमा पार्टीको वैचारिक पक्ष थाती राखेर पद बा“डफा“टमा मात्र सीमित भएको पृष्ठभूमिमा विधान अधिवेशनले राष्ट्रिय राजनीतिमा प्रभावित पार्ने हिसाबले नीति तय गर्ने वा दलको संस्थापनमा वर्चस्व रहेका पक्षले कर्मकाण्डी बनाउने मात्र हो भनेर हेर्न बाँकी छ । संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच चलिरहेको संघर्ष, फरक फरक प्रतिवेदन, आजको राजनीति र घटनाक्रमलाई बुझ्ने सवालमा भएको प्रतिस्पर्धाले संस्थापन पक्षलाई केही न केही चुनौती दिएको छ । नेकपा माओवादी, नेकपा (एमाले) पार्टीका वैचारिक शून्यता छाएको अवस्थामा पार्टीभित्रको संघर्षलाई लोकतान्त्रिक हिसाबले राम्रै र आन्तरिक जीवनलाई जीवन्त बनाउने ऊर्जाको रूपमा लिन सकिन्छ ।

संस्थापनइतरको संघर्ष, चुनौतीले पार्टीभित्र बद्ध मूल रहेका यथास्थिति सोच, प्रवृति चिर्न केही हदसम्म सफल भएको खण्डमा विधान अधिवेशनको सफलता मान्नुपर्ने हुन्छ । ठिक यस्तै बेला संविधानको सुनिश्चित गरेको धर्म निरपेक्ष राष्ट्रको प्रावधानविपरीत हिन्दू राष्ट्र कायम गर्नुपर्ने लबिङ भने उदेक लाग्दो रहेको छ । यसले गर्दा कांग्रेसभित्र एउटा तह– तप्काले संविधानको एउटा महत्वपूर्ण आधारलाई आत्मसात गर्न नसकेको देखाउ“छ । कुरो यतिमा मात्र सीमित छैन, कसैले संघीयता स्वीकार गर्न नसक्ने, कसैले समानुपातिक समावेशी त, कसैले गणतन्त्रलाई स्वीकार गर्न नसकिने सबैखालको तह तप्कामा कांग्रेसमा पनि विधमान रहेको छ ।

संविधान वा लोकतन्त्रलाई सत्ताको भ¥याङभन्दा बढ्ता नठान्ने कांग्रेसको चरित्र आज नेपाली राजनीति हविगत हुनुको भागीदार मान्न सकिन्छ । नेपाली कांग्रेसका अपवाद बाहेकका नेता र कार्यकर्ता मुलुक चलाउन विचार वा सिद्धान्तको आवश्यकता ठान्दैन । फेरि सिद्धान्त र विचार बोकेको ढोग पनि गर्दैन । राजनीतिलाई एउटा पेशा वा तत्कालिकताको कार्य ठान्छन् ।

यही सोच, चिन्तन र प्रवृतिलाई चिर्र्नु आवश्यक छ । आजमा देशमा देखिएका यावत समस्याको समाधान के हो ? किन ती समस्या देखिएका छन् ? यही कोणबाट छलफल, बहस वा समाधानको नीति अनुसरण गर्ने प्रयत्न गरेमा देश र जनताको लागि ठूलो योगदान हुनेछ । किनकि, विचारहिनता नेपाली राजनीतिको ठूलो समस्या हो । जुन समस्याको अपवादबाट कांग्रेस पनि मुक्त छैन । यस हिसाबले कांग्रेस पनि अरू पार्टीभन्दा आवरणमा जे भए पनि सारमा खासै फरक छैन ।

प्रतिक्रिया दिनुहोस्