कौशल अंग्रेजी बोर्डिङ स्कुलद्वारा वृहत् विज्ञान तथा कला प्रदर्शनी सम्पन्न



काठमाडौं ।

कौशल अंग्रेजी बोर्डिङ स्कुलमा वृहत् विज्ञान तथा कला प्रदर्शनी कार्यक्रम सम्पन्न  भएको छ । तारकेश्वर नगरपालिका ८ मा आयोजित कार्यक्रम काठमाडौँ शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विचारी प्रसाद अधिकारीको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हो । यही फागुन ४ गते शुक्रवारदेखि सुरु भएको कार्यक्रममा कौशल माविका सञ्चालक समितिका अध्यक्ष एवम् वृहत् विज्ञान तथा कला प्रदर्शनी कार्यक्रमका सभाध्यक्ष कृष्ण प्रसाद अधिकारीले उपस्थितहरुलाई स्वागत गरेका थिए।

सोही स्कुलका भाइस प्रिन्सिपल डा. भरतप्रसाद भण्डारीले स्कुल ज्ञान – विज्ञान सेयर गर्ने थलो भएको बताए । उनले विज्ञान प्रविधिको विकास विना अहिलेको शिक्षा प्रतिस्पर्धात्मक हुन नसक्ने बताए । कार्यक्रममा प्रिन्सिपल शिव अर्यालले परम्पराको शैलीबाट अध्यापन गराउँदा विद्यार्थीहरू विश्व बजारमा बिक्न र टिक्न नसक्ने धारणा राखे ।

उनले आफ्नो कौशल स्कुलले व्यवहारिक शिक्षामा जोड दिएको बताए । यस्तै सामुदायिक स्कुल जीतपुर माविका प्रधानाध्यापक तथा कार्यक्रमका विशेष अतिथि हरिकृष्ण अर्यालले पी.पी.पी सम्झौता अनुसार कौशल स्कुल जीतपुर माविबिच सिकाइका विषयहरू आदान प्रदान गर्ने अभ्यासले दुवै स्कुल परिवारलाई फाइदा हुनेतर्फ संकेत गरे।

यस्तै कार्यक्रमका विशेष अतिथि काठमाडौं प्याव्सन प्रेमकुमार राईले स्कुल परिवारको प्रशंसा गर्दै स्कुल परिवारको प्रगतिको कामना गरे।कार्यक्रममा प्रमुख अतिथि विचारी प्रसाद अधिकारीले विद्यार्थीलाई धेरै पुस्तक पढाउने भन्दा पनि उनीहरूको क्षमतालाई प्रस्फुटन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले सामुदायिक तथा संस्थागत विद्यालयबिच शेयर तथा प्रतिस्पर्धा हुनुपर्ने धारणा राख्दै प्रतिस्पर्धाबाट गुणस्तर वृद्धि हुने बताए।

कार्यक्रममा संस्कृत विश्वविद्यालयका प्रा.डा. नवराज कट्टेल, हिसान तारकेश्वर शैक्षिक मञ्च, ओप्स, प्याब्सन काठमाडौं तथा तारकेश्वर प्याब्सनका अध्यक्षका साथै पदाधिकारीहरू, विभिन्न स्कुलका प्रधान अध्यापक, शिक्षक तथा शिक्षा प्रेमीको उपस्थिति रहेको थियो।

विभिन्न स्कुलबाट भिजिटरका रूपमा आएका ३५०० विद्यार्थी एवम् शिक्षकले कौशल स्कुलको प्राङ्गण भरिएको थियो । विज्ञान तथा कला प्रदर्शनी कार्यक्रममा अभिभावकले आफ्ना विद्यार्थीका नृत्य, गीतसङ्गीत, नाटक, चित्रकला,  विज्ञान र प्रविधिका सिर्जनाहरू चरणबद्ध नियाली रहेको बताए  ।

त्यसै गरी उक्त कार्यक्रममा स्कुलका भाइस प्रिन्सिपल डा .भरत प्रसाद भण्डारीलाई विद्यावारिधि विशेष उपाधि हासिल गरेकोमा सम्मान गरिएको थियो।

सुरेश न्यौपाने र सलिना महर्जनको सञ्चालन तथा कृष्णप्रसाद अधिकारीको सभापतित्वमा कार्यक्रममा  समापन भएको हो।

प्रतिक्रिया दिनुहोस्