अगस्त्य : च्याप्टर १ को सरप्राइज ट्रेलर



काठमाडौं ।

आगामी १८ गतेबाट रिलिजमा आउने फिल्म द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १ को हालै ललितपुरमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।

सौरभ चौधरीद्वारा लिखित तथा निर्देशित फिल्मको सार्वजनिक ३ मिनेटको ट्रेलर एक्सन दृश्यले भरिएको छ। ट्रेलरले दर्शकलाई नयाँ सरप्राइज दिलाएको छ।

ट्रेलरको एक भागमा अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनबीचको मित्रता देखाइएको छ भने अर्को भागमा दुवैलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। दुवैको एक्सन छरितो र बुलन्द लाग्ने ट्रेलरमा मानसिक सन्तुलन गुमेको चरित्रमा सौगात ससक्त लाग्छन्।

ट्रेलरमा अभिनेता प्रमोद अग्रहरीको चरित्र चित्रण पनि प्रभावशाली लाग्छ। ट्रेलरको एक्सन कोरियोग्राफी सशक्त देखिएको छ भने ब्याकग्राउन्ड म्युजिक अर्को बलियो पक्ष बनेको छ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलद्वारा निर्मित फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, सौरभ शर्मा र भाष्कर स्वाँरको ब्याकग्राउन्ड स्कोर, सञ्जय लामाको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्म रिलिज डेट नजिकिँदै जाँदा अगस्त्य च्याप्टर १ का प्रमुख कलाकारले दर्शकसँगको भेटघाट र अन्तरक्रिया बढाएका छन्। यसै क्रममा हालै राजधानीको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा नाजिर हुसेन र मलिका महत सहभागी भई विद्यार्थीस“ग अन्तरक्रिया गरेका छन्।

सो अवसरमा आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्मका विविध विषयमा जानकारी दिँदै टिजरसमेत प्रदर्शन गरिएको थियो। टिजरको अन्तिममा मेसिनगन लिएर प्रस्तुत भएका नाजिर हुसेनको प्रभावशाली चरित्र र प्रमोद अग्रहरीको झलकले सबैको ध्यान तान्न सफल भएको थियो।

टिजर हेरेपछि विद्यार्थीले अभिनेता सौगात मल्लको चरित्रमा देखिएको विविधताले मन जितेको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा सरिक हुन पुगेका नाजिर, मलिका र बेन बस्नेतसँग दर्शकले सेल्फी खिच्नुका साथै संवाद गरेका थिए।

प्रतिक्रिया दिनुहोस्