हेटौंडामा आजदेखि फिल्म पत्रकारको राष्ट्रिय भेला



काठमाडौं ।

चलचित्र पत्रकार संघ नेपालले संस्था स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा आज आइतबारदेखि मंगलबारसम्म हेटौंडामा प्रथम राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।

राष्ट्रिय भेलामा फिल्म संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायत विभिन्न कार्यक्रम गर्न लागेको संघका केन्द्रीय अध्यक्ष समीर बलामीले हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

भेलामा देशभरबाट दुई सय ५० पत्रकारका साथमा ५० भन्दा बढी कलाकार सहभागी हुने संघका मकवानपुर शाखा अध्यक्ष कपिल खड्काले बताए। कार्यक्रममा नेपाली फिल्म उद्योग र फिल्म पत्रकारिता क्षेत्रबारे कार्यपत्र प्रस्तुत हुनेछ।

आइतबार भेलाको शुभारम्भसँगै बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको फिल्म ऐन मस्यौदामाथि छलफल हुनेछ।

प्रेस काउन्सिल नेपालले सोही कार्यक्रममा बिट पत्रकारिता र हेटौंडाका पत्रकारका लागि पत्रकार आचारसंहितामाथि छलफल गर्नेछ भने विज्ञापन बोर्डले अनलाइन व्यवस्थापनसम्बन्धी कार्यशाला आयोजना गर्नेछ।

यस्तै, सोमबार फिल्म पर्यटन, फिल्म बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली फिल्मको अबको बाटो, केन्द्रीय फिल्म ऐन र सेन्सर कार्यविधिका विषयमा संवाद र अन्तक्रिया हुनेछ।

प्रतिक्रिया दिनुहोस्