कवि कला सेरेङको ‘कलाका अन्तर्मन’ सार्वजनिक



काठमाडौँ। 

कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शनिवार एक कार्यक्रमकाबीच  उक्त कृति सार्वजनिक गरेका हुन् ।

कुलपति राईले सेरेङ्को कलाका अन्तरमन पहिलो प्रकाशन कविता संग्रह तथा अतितका मायाहरु समेटिएको भ्यूजीक भिडियो एकसाथ सार्वजनिक गर्दै कार्यक्रममा आएको विशेष अर्थबोध भयो भने । यस्तो कार्यक्रमले पुर्नमिलनका साथै नयाँ कार्यक्रम बनाउँन सहज हुँदो रहेछ । अमेरिकामा बस्ने हरेक नेपालीको बैठक कक्षमा टेलिभिजनमा नेपालमा नसुनेका नेपाली गीत, भिडियो र समाचार सुन्छन् । नेपालमा बस्ने नेपालीलाई भन्दा विदेशमा बस्ने नेपालीलाई नेपालको बढी चिन्ता देख्दा नेपाल त अमेरिकामा सरेछ जस्तो भान भएको बताउँदै हंङ्कङ्मा बसेकी नेपाली चेलीले नेपालको भूगोल सम्झेर लेखेको कविता र गीतले पुनः झकझक्यायो भन्दै शुभकामना दिए ।

अढाई दशकदेखि कर्मथलो हङकङमा रहेका  सेरेङको यो पहिलो कृति हो । पुस्तक कृतिभित्र ११५ शीर्षकका गीत तथा कविता रहेका छन् । परदेशमा रहँदा घरदेशको सम्झनालाई विषयवस्तु केन्द्रित रहेका छन् । मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, पुर्खाले सिंचेको मातृभूमिप्रति माया, मायाप्रीतिका शब्द उनिएका छन् ।

कार्यक्रममा कवि तथा लेखिका कला सेरेङले आफ्नो अनुभव र भोगाइलाई कविता तथा गीत मार्फत पस्कन खोजेको बताइन्  । उनले आफ्नो कविताले नेपाली साहित्य क्षेत्रमा एउटा इँटा थप्ने काम गरेको भन्दै साहित्यलाई निरन्तरता दिदै जाने बताइन्  । कवि सेरेङले डायस्पोरामा रहेर मातृभूमि नेपालको मायाले गर्दा मनका भावनाहरू साहित्यमा उतारेको बताइन्  । ‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन,’ उनको भनाइ छ, ‘हामी डायस्पोरामा रहेर मातृभूमि र नेपाली भाषाको श्रीवृद्धि गर्ने चाहनाले भावनाको सँगालो प्रकाशनमा ल्याएको हुँ ।’

 विनोद चोङबाङले संयोजन गरेको  कृतिमा डा. दिलकुमार हाङसुरुङ लिम्बू र नरेन नुगो लिम्बूले भूमिका लेखेका छन् ।

कार्यक्रममा  प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धनप्रसाद सुवेदीले कला साहित्य मार्फत मानिसका भोगाइ र बिम्बहरु प्रस्फुटन हुने बताए । कार्यक्रममा  प्राडा नृसिंह कुमार खत्री, वरिष्ठ चलचित्र निर्देशक विनोद श्रेङ्ग, नेपाल सरकारका उपसचिव कुलराज सुनुवार, गीतकार सुरेन्द्र राना, पत्रकार गणेश राई, चलचित्र निर्देशक उदय सुब्बा, सुनुवार सेवा समाज अध्यक्ष अमृत बहादुर सुनुवार श्रेङ्ग समाज काठमाडौका अध्यक्ष दुर्गा श्रेङ्ग, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमल, गितकार सरिता राई लगायतको उपस्थिति रहेको थियो ।

सेरेङको ‘अतितका यादहरू’ गीतिभिडियोको गीतलाई संगीतकार बीबी अनुरागीले संगीत दिएका छन्  । उक्त गीत प्रसिद्ध गायिका अन्जु पन्तले गाएकी छन्।   भिडियोमा ओखलढुंगाको लिखु गाउँपालिका–९ पोकली वाच्पुको ग्रामीण जनजीवन समेटिएको छ । परम्परागत कृषक परिवारको जीवनशैली प्रस्तुत गरिएको छ । त्यसमा कला सेरेङ र उनका जीवनसाथी सीएम सुनुवार स्वयंले अभिनय गरेका छन्  । सीएम सुनुवार वाम्बुले राई संस्कृतिमा आधारित चलचित्र ‘सुम्निमा’को नायकसमेत हुन ।

प्रतिक्रिया दिनुहोस्