काँडेतारको एक्सन ट्रेलर



काठमाडौं ।

आगामी फागुन २५ गते रिलिज हुने फिल्म काँडेतारको ट्रेलर जनयुद्ध दिवसको अवसर पारेर मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

जमलस्थित विश्वज्योति सिनेप्लेक्स हलमा आयोजित कार्यक्रमका बीच फिल्मको एक्सन–प्रधान ट्रेलर सार्वजनिक गरिएको हो। नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरिएको कथावस्तु फिल्ममा पेश गरिएको छ।

यसअघि देशभरका विभिन्न स्थानमा च्यारिटी शो प्रदर्शन गरिएको फिल्मलाई चलचित्र विकास बोर्डले विशेष फिल्म घोषणा गर्दै १० लाख रुपैयाँ प्रोत्साहन शुल्क प्रदान गरेको छ।

कार्यक्रममा फिल्मका निर्देशक तथा कलाकार नवल खड्काले काँडेतारको च्यारिटी शो र प्रचारप्रसार गर्दै जाँदा जनकपुरमा प्रमुख जिल्ला अधिकारीले हल सञ्चालकलाई फिल्म नदेखाउन निर्देशन नै दिएको आरोप लगाए।

नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने मत पेश गरेको फिल्ममा नवलका साथमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीलगायत कलाकारका साथ बालकलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन्।

फिल्ममा लेखन शिवम् अधिकारी र निर्देशक खड्काको रहेको छ भने मणि थापा र दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र सौरभ लामाको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्