रँगेलीको दुल्हा दुल्हन



काठमाडौं ।

आगामी फागुन २५ गते रिलिज हुने फिल्म रंगेलीको दोस्रो गीत दुल्हा दुल्हन सार्वजनिक गरिएको छ।

विवाह गीतको रूपमा तयार पारिएको गीतमा निशान भट्टराईको स्वर, सविन एकतारेका शब्द रचना र सुशान्त गौतमको संगीत रहेको छ।

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको विवाह समारोहको सांगीतिक कार्यक्रमको पृष्ठभूमिमा तयार गीतको गीतको भिडियोमा अभिनेता विजय बराललाई प्रमुख स्थान दिइएको छ।

पछिल्लो समयका फिल्ममा गरेको अभिनयका कारण चर्चामा रहेका बराल भिडियोमा कमेडी शैलीमा प्रस्तुत भएका छन्। भिडियोको सेटअप पृथक् शैलीमा छ।

अर्जुन सुवेदीको लेखन र निर्देशन रहेको रंगेलीमा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्।

फिल्मका गीतमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत रहेको छ।

संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठको निर्माणमा बनेको फिल्ममा जीतेन्द्र खतिवडा र अनुजजंग थापा कार्यकारी निर्माता तथा युवक कार्की र शिवशंकर चौलागाईं सह–निर्माता, विवेक खड्का (योलो) एशोसियट निर्माता रहेका छन्।

अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर गरिने फिल्म नेपालसँगै नेपालीको बसोबास रहेका अस्ट्रेलिया, जापान, कोरिया, हङकङलगायत विश्वका विभिन्न मुलुकमा एकसाथ रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्