सिपाहीमा समर्पित जय जय गोर्खाली



काठमाडौं ।

आगामी फागुन ११ गतेबाट अल नेपाल रिलिज हुने ऐतिहाँसिक अन्तर्राष्ट्रिय फिल्म गोर्खा वारियरको गीत जय जय गोर्खालीको मोसन भिडियो सार्वजनिक गरिएको छ। गीतको भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट रिलिज गरिएको हो।

सशस्त्र प्रहरी बल पूर्वमहानिरिक्षक एवम् गीतकार शैलेन्द्र खनाल ‘शरद’ लेखेको गीतमा गीतमा युद्धमा खटिएका सिपाहीको वीरताको गाथा पोखिएको छ।

कर्तव्यमा अघि बढ्नका लागि हरेक सिपाहीलाई ऊर्जा दिने गीतलाई राजेशपायल राईले आकर्षक र माधुर्य स्वरमा गाएका छन् भने एलिश कार्कीले संगीत भरेका छन्।

मोसन भिडियोमा गीतलाई एकातर्फ लिरिकल रूपमा प्रस्तुत गरिएको छ भने अर्कोतर्फ सम्बन्धित गीतको भाव समेटिएको दृष्यसँगै तस्वीर युक्त भिडियो पनि गीति शब्दसँगै प्रस्तुत गरिएको छ।

गीतले बा आमाको आशिष माग्दै, वीरहरूको पनि वीर बन्दै डटेर लड्ने इमान्दारिताको मार्गमा चल्ने अनि मातृभूमिको नाम राख्ने म हुँ बहादुर सिपाही भन्दै सिपाहीको कर्तब्य र जिम्मेवारीको बयान गरेको छ।

गीतले सेना तथा सुरक्षा फौजमा रहेका बहादुर सिपाहीको संघर्ष, वीरताको कथा र परिवारसँग उसको सम्बन्धलाई श्रव्य दृष्य माध्यमले वर्णन गरेको छ।

फिल्म ब्र्रिटिस गोर्खा सिपाहीको साहसिक कथामा निर्माण भए पनि गीतले सबै प्रकारका सिपाहीको बहादुरीको कथा भनेको छ।

फिल्मका निर्देशक मिलन चाम्सले फिल्मको कथा भावअनुसारकै गीत तयार गरिएको बताए। गीतमा फिल्मका मुख्य कलाकार रितेश चाम्स, विजय लामा, रेविका गुरूङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, विरूप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन्।

नेपाली, हिन्दी, अँग्रेजी र कोरियनसहित चार भाषामा निर्माण फिल्ममा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, हिमाल केसीको द्वन्द्व निर्देशन, सुदीप बरालको डीओपी र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा सुमन राई र सुस्मिता वाइवाद्वारा निर्मित फिल्ममा प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्याकारी निर्मातामा तथा सुरेश राई सहनिर्माता छन्।

प्रतिक्रिया दिनुहोस्