प्रिमियरमा मन पराइयो हात्तीछाप



काठमाडौं ।

भोलि शुक्रबारबाट रिलिजमा आउने फिल्म हात्तीछापको मंगलबार राति राजधानीमा प्रिमियर गरिएको छ।

सिमोस सुनवारको निर्देशनमा प्रदीप भारद्वाजको कथा रहेको फिल्म हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले प्रशंसा गरे।

उनले, फिल्मले नेपालको एक ऐतिहासिक घटनालाई दुई घण्टामै समेटेको देखेर आफूलाई आश्चर्य लागेको बताए।

निर्देशक शोभित बस्नेत, कृषा चौलागाईं र नायिका रिस्ता बस्नेतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरे।

नायिका बेनिशा हमाल उत्साहित देखिइन्। फिल्ममा सरप्राइज भूमिकामा देखिएकी बेनिशाले दर्शकलाई यसको कथावस्तु मनपर्ने दाबी गरिन्।

अर्की नायिका उपासना सिंह ठकुरीले पनि फिल्म राम्रो बनेकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्। बोत्तल राजाको भूमिकामा देखिएका नायक सौगात मल्लले दर्शकले फिल्मलाई मन पराउने विश्वास व्यक्त गरे।

फिल्मले विशेषगरी, दयाहाङ राई र सौगात मल्लको पात्रले आ–आफ्नो कथा भनेको छ। यी दुईको कथाको मेल कहाँबाट कसरी हुन्छ भन्ने रोमाञ्चकता र कौतुहलता फिल्ममा छ।

किरण नेपालीको प्रस्तुतिमा बनेको फिल्ममा विजय बराल, विल्सन विक्रम राई, पुष्कर गुरुङ, रेअर राई, सुष्मा निरौला, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन्।

यो फिल्मको अधिकांश हलमा बुकिङ खुलिसकेको छ। फिल्मलाई अधिकांश हलले सुखद शोज दिएका छन्।

प्रतिक्रिया दिनुहोस्