दयाहाङ र उपासना हात्तीछापबाट उत्साहित



काठमाडौं ।

अभिनेता दयाहाङ राई आगामी माघ २६ गतेबाट रिलिजमा आउने आफ्नो फिल्म हात्तीछापबाट उत्साहित देखिएका छन्।

उनले हालै राजधानीमा आयोजित कार्यक्रममा फिल्मको कथावस्तु निकै मन परेकाले काम गरेको बताए।

‘पहिलो कुरा त यो फिल्मको कथावस्तु निकै नै राम्रो छ। दोस्रो, निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने विषयमा छलफल भइरहेको थियो। पहिले पनि काम गर्ने भनेर गर्न पाइएन। यसैले, यसपटक सिमोसको निर्देशनमा काम गर्न म उत्साहित भएको हुँ’ दयाहाङले फिल्मबाट आफू सन्तुष्ट रहेको जनाउँदै भने ‘यसको मुख्य उद्देश्य त व्यवसायिकता नै हो। तर, पनि फिल्मले समाजका विभिन्न विषयवस्तुलाई समेटेको छ। फिल्म दामी बनेको छ। यसैले, म उत्साहित छु।’

फिल्मको ट्रेलरमा भूकम्पको दृश्य पनि समावेश गरिएको छ। ‘त्यो एउटा पार्ट मात्र हो। यसको स्टोरीको संसार छुट्टै छ। भूकम्पले फिल्मको कथा संसारमा एउटा नयाँ समस्या थप्छ’ दयाहाङले प्रष्ट्याए।

फिल्मले पैसाको कथालाई पनि उठान गरेको दयाहाङले बताए। उनले फिल्मले आम नेपालीको कथालाई जोड्ने र फिल्मलाई लामो समयपछि पनि दर्शकले सम्झन सक्ने दाबी गरे।

फिल्मकी नायिका उपासना सिंह ठकुरीले पनि यसको कथावस्तु शक्तिशाली रहेको बताइन्। ‘फिल्म भित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ। जसले, आफ्नी प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ। जसको मनमा कुनै पनि स्वार्थ छैन’ उपासनाको भनाइ थियो ‘यो फिल्मले नेपाली दर्शकलाई भावनामा जोड्छ। यसलाई व्यावसायिक फिल्मको रूपमा मात्र हेर्नु हुँदैन। सबै नेपालीले भोगेको विषय यो फिल्मको कथा हो।’

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारले पनि अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्