म्युजिकल फिल्म चल्ने हावालाई सार्वजनिक



काठमाडौं ।

महिला सशक्तीकरणको विषयलाई समेटेर निर्देशक संगीता श्रेष्ठले निर्देशन गरेको म्युजिकल फिल्म चल्ने हावालाई सार्वजनिक गरिएको छ।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले उक्त बाह्र मिनेट लम्बाइको म्युजिकल फिल्म सार्वजनिक गरेकी हुन्।

म्युजिकल फिल्म हेरिसकेपछि उपसभामुख रानाले प्रशंसा गर्दै खास उद्देश्य बोकेर संघर्ष गरेमा सफलता हात पर्ने बताइन्। ‘म आफैँ पनि बाल्यकालमा निकै संघर्ष गरेर स्कुल पुगेकी थिएँ। तर, मैले आफ्नो मेहनतले वर्षौंदेखि स्कुल गइरहेका भन्दा बढी नम्बर ल्याएर स्कुल टप गरेँ’ उपसभामुख रानाले भनिन्, ‘यहाँ छोरीले गर्न सक्दिनन् कि भन्ने सोच्ने नभएका होइनन्, तर हामीले उनीहरूलाई काम गरेर देखाउनुपर्छ। यस्ता म्युजिकल फिल्ममार्फत छोरीलाई गरिने विभेदलाई कम गर्न सचेतनाको सन्देश प्रवाह गर्नुपर्छ।’

निर्देशक श्रेष्ठले चल्ने हावालाईमार्फत् छोरीहरूलाई छोराझैँ समानरूपमा हेर्न र बुझ्न आग्रह गरिएको बताइन्।

‘हामी छोरालाई दिने अवसर किन छोरीलाई दिन सक्दैनौँ? के उनीहरूमा योग्यता छैन र? कि हाम्रो सोच नै अयोग्य छ? यस्ता विषयमा सोच्नुपर्ने समय आएको छ’, निर्देशक श्रेष्ठले भनिन्, ‘यो गीत सुनेपछि यसको शब्दअनुसार एउटा कथा फुरेपछि म्युजिकल फिल्मको रूपमा तयार गरेका हौँ। छोरीलाई अवसर दिनका लागि हामीले मन र सोच सुन्दर र फराकिलो बनाउनै पर्छ।’

नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा देखिने नकारात्मक विषयलाई गीत–संगीतमार्फत उठाइएको भन्दै सफलताको शुभकामना दिए।

राष्ट्रिय सेवा दलका तालिम योजना तथा अनुगमन निरीक्षक महेशकुमार थापाले महिलालाई सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सक्षम बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा म्युजिकल फिल्ममा देखिएकी बाल कलाकार तथा निर्देशक श्रेष्ठकी छोरी सम्वृद्धि श्रेष्ठले आफ्नो प्रतिभा उजागर गर्दै उक्त गीत लाइभ गाएकी थिइन्।

गीतमा सञ्चिता लुइँटेल, बेनिशा हमाल, गजित बिष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, क्रिस केसीलगायतका कलाकारले अभिनय गरेका छन्।

सरु पराजुलीको स्वर तथा शिव चम्लागाईंको शब्द र संगीत रहेको गीतमा अभिनेत्री हमालले पाइलट बन्ने सपना पूरा गर्न गरेको संघर्ष देखाइएको छ।

उनको पात्रमार्फत समाजले महिलालाई हेर्ने दृष्टिकोण, छोरीलाई अवसरबाट वन्चित गराउने कारण, लैंगिक विभेदजस्ता पक्षलाई देखाइएको छ।

म्युजिकल फिल्म चल्ने हावालाई गायिका पराजुलीकै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्