गोर्खा वारियरको धरानमा प्रिमियर हुने



काठमाडौं ।

रिलिज मिति नजिकिँदै जाँदा ऐतिहाँसिक अन्तर्राष्ट्रिय फिल्म गोर्खा वारियर धरानमा प्रिमियर गरिने भएको छ। आगामी फागुन ११ गत रिलिज हुने फिल्म फागुन ५ गते धरानमा प्रिमियर गर्न लागिएको हो।

प्रिमियर आयोजक समितिले धरानको अहिलेसम्मकै विशिष्ट प्रिमियरको रूपमा गोर्खा वारियरको ऐतिहाँसिक प्रिमियर गर्न लागेको जनाएको छ।

‘पूर्व ब्रिटिस आर्मी तथा ब्रिटिस आर्मीको धेरै बसोवास भएको धरानमा हामीलाई प्रिमियरको लागि बारम्बार आग्रह आएका कारण हामीले त्यहाँ प्रिमियर गर्न लागेका हौँ। धरानको प्रिमियरमा पूर्व पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरका पूर्व ब्रिटिस आर्मी सहभागी हुनुहुनेछ’ फिल्मका निर्देशक मिलन चाम्सले भने।

प्रिमियर शो मा ब्रिटिस गोर्खा आर्मीसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका उच्च पदाधिकारी, विभिन्न सरकारी निकायका उच्च पदाधिकारी, स्थानीय सरकारका प्रमुख एवम् त्यहा“का विशिष्ट व्यक्तित्व सहभागी हुने चाम्सले बताए।

गोर्खा वारियरको यसअघि बेलायतमा ऐतिहासिक रेडकार्पेट प्रिमियर आयोजना गरिएको थियो। हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा गत भदौ २४ गते अन्तर्राष्ट्रिय ऐतिहाँसिक प्रिमियर गरिएको थियो। फिल्मले हालै ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस् (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा बढेको छ।

गोर्खा वारियर नेपाली, हिन्दी, अंग्रेजी र कोरियन गरी चार भाषामा निर्माण गरिएको छ। फिल्ममा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ भने रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, रियर राई, विरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन्।

यही फिल्मबाट नायकमा डेब्यु गरेका रितेश चाम्स आफैं ब्रिटिस गोर्खा आर्मीस“गै पाइलट पनि हुन्। लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा सुमन राई र सुस्मिता वाइबाद्धारा निर्मित फिल्ममा प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता तथा सुरेश राई सह–निर्माता रहेका छन्।

फिल्ममा शैलेन्द्र खनाल ‘शरद’ को गीत रचना, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, हिमाल केसीको द्वन्द्व निर्देशन, सुदीप बरालको डीओपी र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्