हात्तीछाप अब नेपालसँगै विदेशमा पनि एकसाथ



काठमाडौं ।

आगामी २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म हात्तीछाप सोही मितिमा विश्वका विभिन्न देशमा एकसाथ रिलिज हुने भएको छ।

अब, यो फिल्मको अन्तरर्राष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघ २६ गते नै विश्वका विभिन्न देशमा रिलिज गर्न लागेको हो।

फिल्म अस्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट र रोटेपिङ इन्टरटेन्मेन्टले रिलिज गर्दैछन्। यस्तै, अमेरिका र क्यानडामा यात्री डिजिटलले रिलिज गर्दैछ भने युरोपका सम्पूर्ण देशमा नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्ने पक्का भएको छ।

मध्यपूर्वका देशमा फिल्मलाई सुप्रिम फिल्म प्रोडक्सन एन्ड डिस्ट्रिब्युसन कम्पनीले रिलिज गर्ने भएको छ भने दक्षिण कोरिया र जापानमा यूएनए इन्टरटेन्मेन्टले रिलिज गर्दैछ।

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्मले नेपालसँगै विदेशमा पनि सुखद कमाइ गर्ने अपेक्षा यसको निर्माण संस्थाको छ।

किरण नेपालीको प्रस्तुतिमा बनेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, विल्सन विक्रम राईलगायतका कलाकारले अभिनय गरेका छन्।

यसैबीच, फिल्मको निर्माण समूहले सामाजिक सेवामा पनि पाइला अघि बढाएको छ। हात्तीछापको टिमले हालै लायन्स क्लबसँगको सहकार्यमा किस्पाङ–२ सातदोबाटोमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

शिविरमा निःशुल्क उपचारका साथै औषधि वितरणसमेत गरिएको फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले जानकारी गराए।

शिविरमा सात सय बढी नागरिकले निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए भने १५ लाख भन्दा बढीको औषधि निःशुल्क प्रदान गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्