पुनमको मृत्युसँगै मजाक



काठमाडौं ।

अनेक हरकत र अभिव्यक्तिबाट चर्चा र विवादमा आइरहने बलिउड अभिनेत्री तथा मोडल पुनम पाण्डेले मृत्यसँग नै मजाक गरेकी छन्।
उनले आफ्नो मृत्युको झुटो खबर फैलाउँदै मृत्युसँग मजाक गरेकी हुन्। शुक्रबार नै निधन भएकी भनिएकी पाण्डेले शनिबार दिउँसो सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै आफू जिउँदै रहेको खुलाइन्।

उनले क्यान्सरसम्बन्धी जनचेतना फैलाउन यो पब्लिसिटी स्टन्ट गरेको दाबी गर्दै अर्को एक भिडियो सेयर गरी दर्शकका साथ माफी पनि मागेकी छिन्।

उनले आज आइतबार लाइभमा आएर जानकारी दिन चाहेको भए पनि आफ्नो निधनको खबरले मानिसहरू आक्रोशित र अन्योलमा परेको देखेर भिडियो सेयर गर्ने निर्णय गरेको जनाएकी छन्।

‘म जिउँदै छु। पाठेघरको मुखको क्यान्सरले गर्दा म मरेको होइन। दुर्भाग्यवश, पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएका अन्य महिलाको बारेमा पनि म यसो भन्न सक्दिनँ। म यहाँ के भन्न चाहन्छु भने पाठेघरको मुखको क्यान्सर अरू क्यान्सरजस्तो होइन, यो रोक्न सकिन्छ। तपाईंले आफ्नो परीक्षण गर्नुपर्छ र एचपीभी खोप लिनुपर्छ। हामी यो सबै गर्न सक्छौँ। ताकि, यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस्’ लोनावलामा रहेको भनिएकी भिडियोमा पुनमले भनेकी छन्।

शुक्रबार बिहान ३२ वर्षीया पुनमको मृत्युको खबरले दुनियाँभर सनसनी मच्चाएको थियो। भारतीय तथा अन्य देशका सञ्चार माध्यमले उनको मृत्युको खबर प्रकाशन र प्रसारण गरेका थिए।

पुनमको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको समाचारमा जनाइएको थियो। पुनमको प्रबन्धकले नै उनको निधनको जानकारी दिए पनि त्यसको ठोस प्रमाणसहित पुष्टि गर्न भने सकेका थिएनन्।

विवादास्पद क्रियाकलाप र अभिव्यक्तिको कारण यसअघि पनि पटक–पटक चर्चामा आएकी उनले आफ्नो मृत्युको झुटो खबर फैलाएर फेरि दुनियाँलाई बेवकुफ बनाएकी हुन्।

पुनम तिनै विवादास्पद अभिनेत्री र मोडल हुन्, जसले सन् २०११ को क्रिकेट विश्वकपमा भारतले जिते आफू नग्न हुने घोषणा गरेकी थिइन्। जसको कारण उनको चर्चा ह्वात्तै बढेको थियो।

सन् १९९१ मा भारतको कानपुअरमा जन्मेकी पुनम त्यसपछिका दिनमा यस्तै यस्तै विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहिन्।

सन् २०१३ मा फिल्म नशाबाट बलिउडमा डेब्यु गरेकी पुनमले सन २०१६ मा टिम इन्डियाले बंगलादेशलाई हराएपछी आफ्नो अर्धनग्न फोटो सेयर गरेकी थिइन्।

जसले गर्दा उनी फेरि विवादमा आइन्। उनको कला जीवन विवाद र चर्चाले भरिएको छ। एकपटक सञ्चार माध्यमका साथ आफूले चर्चामै आउनको लागि कपडा उतार्ने जस्तो विवादास्पद अभिव्यक्ति दिएको बताएकी थिइन्।

लक डाउनको समयमा नियम उल्लंघन गरेको भन्दै प्रहरीले एक पाँचतारे होटल अगाडिबाट उनी र उनको साथीहरूलाई पक्राउ गरेको थियो भने उनको बिएम्डब्लू कारसमेत जफत गरेको थियो।

त्यस्तै, केही वर्षअघि अश्लील भिडियो छायांकन गरेको भन्दै गोवाको क्यानाकोना प्रहरीले उनलाई पक्राउ गरेको थियो।

पुनमको प्रेम र वैवाहिक जीवन पनि सफल हुन सकेन। सन २०२० साम बम्बेका साथ विवाह गरेकी उनी पतिले आफूमाथि कुटपिट गरेको भन्दै केही दिनमा छुट्टीएकी थिइन्।

उनको अर्को चर्चित विवाद अभिनेत्री शिल्पा शेट्टिका पति राज कुन्द्राका साथ जोडिएको थियो। एडल्ट फिल्म निर्माणको विषयमा कानुनी लडाइँमा लडिरहेका राज कुन्द्राका साथ पुनमले आफ्नो नाममा एक  र्‍याप निर्माण गर्न र त्यसको केही रकम आफूले पाउने सम्झौता गरेकी थिइन्।

तर, पछि सो कुरामा विवाद भएपछि पुनमले सम्झौता रद्द गरिन्। सो विषयलाई लिएर पुनम र राजबीच लामो समयसम्म जुवारी चलेको थियो।

रियालिटी शो, केही फिल्म तथा मोडलिङबाट राम्रो आम्दानी गर्ने पुनम करोडौं सम्पत्तिकी मालिक्निी थिइन्। उनको मुम्बईमा घर तथा बीएमडब्लू कारसमेत रहेको छ।

टाइम्स अफ इन्डियाका अनुसार उनको कुल सम्पत्ति ८३ करोड भारु रहेको छ। उनले इरोटिक नामक एड्ल्ट एपसमेत सञ्चालन गर्थिन्।

जसको लाखौं सस्क्राइबर रहेका छन्। पछिल्लोपटक उनी अभिनेत्री कंगना रनावतले चलाएको शो लकअपमा देखिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्