बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका चौधरी र थापालाई ग्राण्डी लगियो



काठमाडौं ।

सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई धापासी स्थित ग्राण्डी अस्पतालमा सारिएको छ। बिहीबार पक्राउ परेका उनलाई चिरायु अस्पतालमा राखिएको थियो।

अहिले त्यहाँबाट अस्पतालले रिफर गरेपछि टोखास्थित ग्राण्डी अस्पताल सारिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्ने अनुमति दिएपछि चौधरीलाई स्वास्थ्यको कारण देखाउँदै हिरासतमा नराखी अस्पतालमा लगिएको थियो।

उनीसँगै पक्राउ परेका बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पनि ग्राण्डीमा रिफर गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार चौधरीलाई लैनचौर र अजितनारायणलाई बत्तिसपुतलीबाट पक्राउ गरेको थियो। उनीहरुले छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लिएको आरोप लागेको छ।

पक्राउ परेका अजितनारायण ८२ वर्षका छन्। उनको मुटुको समस्या छ। चौधरीलाई पनि रक्तचापको समस्या रहेको भन्दै अस्पताल भर्ना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्