वैदेशिक रोजगारीमा छ सयभन्दा बढीलाई ठगी गर्ने पक्राउ



काठमाडौं ।

वैदेशिक रोजगारीका लागि युरोपलगायत विभिन्न देश पठाइदिन्छु भन्दै छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरको कन्जोसोम गाउँपालिका–४का विकास वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ। पक्राउ परेका उनलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो।

उनलाई ललितपुरको लेलेबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

तामाङले नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्यान्ड, क्यानडा र क्रोएसियालगायतका देशहरूमा पठाइदिन्छु भनी प्रलोभनमा पारी छ सय जनाभन्दा बढी व्यक्तिहरूबाट करोडौँ रकम ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो।

निजले विसं २०७३ सालबाट अयुस म्यानपावरलगायत विभिन्न मेनपावरमा एजेन्टका रूपमा करिब पाँच वर्ष काम गरी विभिन्न व्यक्तिहरूलाई दुबई, कतार मलेसियामा पठाएको प्रहरीको भनाइ छ।

साथै २०७७ सालमा ठगी तथा आपराधिक लाभसम्बन्धी कसुर मुद्दामा फरार रही नेपाल तथा भारतको विभिन्न स्थानमा लुकीछिपी बसेको, गत वैशाखमा आफूलाई विकास वाइवा भनी नक्कली परिचय दिई बालाजुमा युरो विग्ङ्स एजुकेसन कन्सलटेन्सी सञ्चालन गरेको पनि प्रहरीले जानकारी दिएको छ।

उनले सरकारी निकायका कर्मचारीलाई समेत युरोप पठाउने भनी रकम लिई नक्कली भिसा देखाई जागिर छाड्न लगाएको तथा विकास वाईवाको नामबाट बैंक खाता खोली आफैंले हस्ताक्षर गरी बैंक तथा वित्तीय संस्थामार्फत् आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

पक्राउ परेका तामाङले युरोपियन मुलुकमा कामदार पठाउँछु भनेर क्यानडाका लागि १८ लाख, माल्टाका लागि आठ लाख, पोल्यान्डका लागि सात लाख र क्रोएसियाका लागि छ लाख ५० हजारका दरले ठगी गरेको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिनुभयो।

उहाँका अनुसार लामाले छ सयभन्दा बढी सर्वसाधारणबाट ५० हजारदेखि पाँच लाखसम्म रकम लिएको देखिएको छ।

तामाङले ठगी गरेको रकमबाट चार करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर, वसुन्धारामा ५० प्रतिशत सेयर, हुन्डाइको क्रेटा गाडी खरिद गरेको, भाइको खातामा १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत् सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको तथा ५ लाखको सुनको ब्रासलेट खरिद गरेको पत्ता लागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्